काठमाडौं, साउन २५ । पठाओ पार्सलमार्फत १२ हजारभन्दा बढी व्यवसायीलाई नेपालभर सामान डेलिभरी गर्न सहजीकरण गर्दै आएको पठाओले अब नेपाली अनलाइन व्यवसायीहरूलाई लक्षित गर्दै ‘पठाओ कमर्स’ नामक डिजिटल बिजनेस म्यानेजमेन्ट सिस्टम सार्वजनिक गरेको छ। ‘सिम्प्लीफाई योर अनलाइन बिजनेस’ भन्ने अवधारणाका साथ ल्याइएको यस प्रणालीमार्फत व्यवसायीले सामाजिक सञ्जाल, अर्डर, इन्भेन्ट्री, वेबसाइट र डेलिभरी लगायत दैनिक व्यावसायिक कार्यहरू एउटै डिजिटल ड्यासबोर्डबाट सहजै व्यवस्थापन गर्न सक्नेछन्।
पठाओ कमर्सका मुख्य विशेषताहरू अन्तर्गत फेसबुक र ह्वाट्सएपका म्यासेजहरूलाई एउटै इनबक्समा ल्याई ग्राहकसँग कुराकानी गर्दागर्दै अर्डर लिन सकिने एकीकृत च्याट र अर्डर व्यवस्थापनको सुविधा रहेको छ भने आगामी दिनमा यसमा इन्स्टाग्राम र टिकटक पनि जोडिनेछन्। च्याटदेखि पठाओ पार्सलमार्फत नेपालभर डेलिभरी गर्ने प्रक्रियालाई एउटै प्रणालीमा जोड्ने यो सुविधा नेपालमा पहिलो पटक ल्याइएको हो। यसैगरी, व्यवसायीले दराज एप, आफ्नै वेबसाइट तथा अन्य अनलाइन स्टोरहरूलाई जोडी विभिन्न माध्यमबाट आएका अर्डर र स्टकको व्यवस्थापन एकै ठाउँबाट गर्न सक्नेछन् भने शपिफाई र वू–कमर्स जस्ता प्लेटफर्महरू पनि छिट्टै जोडिनेछन्। साथै, व्यवसायीहरूले यसै प्रणालीमार्फत आफ्नो व्यापारका लागि निःशुल्क वेबसाइट बनाउन र आफ्नो अनलाइन स्टोरलाई ‘पठाओ शप’मा लाइभ गर्न सक्ने सुविधा पनि उपलब्ध गराइएको छ।
विशेषगरी सामाजिक सञ्जालमार्फत व्यवसाय गर्नेहरू, दराज एपका विक्रेताहरू, साना तथा मझौला व्यवसायहरू र उदीयमान नेपाली ब्रान्डहरूलाई लक्षित गरी ल्याइएको यस सेवा अन्तर्गत सुरुवाती १,००० वटा व्यवसायलाई चालु आर्थिक वर्षभर यो सेवा निःशुल्क उपलब्ध गराइनेछ भने अन्य नयाँ दर्तामा ३० दिनको फ्री ट्रायल पाइनेछ र त्यसपश्चात् यो सेवा मासिक रु. ४,९९९ वा वार्षिक रु. ४९,९९९ मा प्रयोग गर्न सकिनेछ (जसको बजार मूल्य वार्षिक रु. १.५ लाखभन्दा बढी पर्ने कम्पनीको दाबी छ)।
पठाओ नेपालका प्रबन्ध निर्देशक यशु थकालीले यो प्रणालीले नेपाली व्यवसायहरूको दैनिक सञ्चालनलाई सरल बनाउन र डिजिटल युगमा प्रतिस्पर्धी बन्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै यो आगामी ५ वर्षमा नेपालको डिजिटल इकोनोमीलाई १० गुणाले बढाउने उल्लेख गर्नुभएको छ।




