काठमाडौं, साउन २६ । काठमाडौं महानगरपालिका–२७ स्थित गाउँवेँशी थकाली भान्साघरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार बिहान करिब ६ः१२ बजे जुवा खेलिरहेको सूचना पाएपछि प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले उक्त स्थानमा पुगेर जाँच गरेको थियो।
प्रहरीले जुवा खेलिरहेको अवस्थामा उनीहरूको साथबाट नगद ६ लाख ९२ हजार ७ सय १५ रुपैयाँ बरामद गरेको जनाएको छ। पक्राउ परेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, चितवन, नुवाकोट, झापा र ललितपुर लगायतका विभिन्न जिल्लाका व्यक्तिहरू रहेका छन्।
पक्राउ पर्नेमा रोशमबहादुर ध्यावा, सुमन गिरी, किरण गुरुङ, शान्ता लामा, नवराज नेपाल, अमर तामाङ, रम्न लामा, नवीनकुमार लामा, सन्तोष डंगोल, टीकाराम बराल, उमेश चौधरी, मंगलबहादुर तामाङ, चित्रबहादुर लामा, सुरेश गिरी, यशबहादुर तामाङ र सुजन तामाङ रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दानबहादुर थापाले जारी गरेको विज्ञप्तिमा पक्राउ परेकामध्ये सुजन तामाङ गाउँवेँशी थकाली भान्साघरका सञ्चालक रहेको उल्लेख छ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको जनाएको छ।




