काठमाडौं, साउन २८ । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेपछि पत्रकारहरू आन्दोलित भएका छन्। ललितपुरको नख्खुस्थित आफ्नै निवासबाट बुधबार राति पक्राउ परेका श्रेष्ठलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ।
उनको पक्राउको विरोधमा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा सञ्चारकर्मीहरूले काठमाडौं प्रहरी परिसरअगाडि जोरदार धर्ना तथा नाराबाजी गरेका छन्। आन्दोलनमा उत्रिएका पत्रकारहरूले ‘पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहाइ गर’, ‘प्रेस स्वतन्त्रता पुनर्बहाली गर’ र ‘पत्रकार तर्साएर प्रेसको मुख थुन्ने प्रयास असम्भव’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेर विरोध जनाएका छन्।
महासंघले समाचार प्रकाशनकै भरमा सम्पादकलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको कडा आपत्ति जनाएको छ। समाचारमा चित्त नबुझे त्यसको समाधान खोज्ने कानुनी तथा स्थापित मार्गहरू हुँदाहुँदै पत्रकारलाई नै थुन्ने प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य नहुने महासंघको स्पष्ट ठहर छ। साथै, राज्यले पत्रकारहरूलाई भयमुक्त वातावरणमा निर्भीक रूपमा समाचार लेख्ने र प्रकाशन गर्ने हक सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।
श्रेष्ठ पक्राउ परेको भोलिपल्ट बिहीबार बिहानै करिब ७ बजे प्रहरीको टोली सानेपास्थित जनआस्था कार्यालयमै पुगेर खानतलासीसमेत गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार अनुसन्धानका लागि कम्प्युटर तथा कम्प्युटरजन्य उपकरणहरू र केही कागजातहरू हेर्नुपर्ने भएकाले कार्यालयमा खानतलासी गरी ती सामग्रीहरू संकलन गरिएको हो। महासंघले यसरी कार्यालयमै खानतलासी गर्ने र धरपकड गर्ने कार्य जारी रहे थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ।




