काठमाडौं, भदौ १ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विद्युत, सिँचाइ र सार्वजनिक सेवामा गरेको कर वृद्धिको विरोध गर्दै देशव्यापी आन्दोलनको घोषणा गर्नुभएको छ।
माइतीघरमा आयोजित हस्ताक्षर अभियानलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले दुई तिहाइ बहुमतको सरकारले ल्याएको बजेटले आम जनता र न्यूनवर्गीय श्रमिक वर्गलाई ठूलो मारमा पारेको बताएका छन्। सरकारले घरायसी विद्युतमा ५ प्रतिशत र उद्योग, खानेपानी तथा सिँचाइमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएर किसान र उपभोक्तामाथि अन्याय गरेको उनको भनाइ छ।
सोही अवसरमा घिसिङले डेडिकेटेड र ट्रंक लाइनको अर्बौं रुपैयाँ बक्यौता रकम तत्काल उठाउनुपर्ने माग दोहोर्याएका छन्। आफू विद्युत प्राधिकरणमा रहँदा बक्यौता उठाउन खोज्दा सरकारले हटाएको स्मरण गराउँदै उनले अहिले पनि विभिन्न समिति बनाएर सो रकम मिनाहा गर्न खोजिएको भन्दै कडा खबरदारी गरेका छन्।
विद्युतमा लगाइएको भ्याट फिर्ता गर्न र ऊर्जा क्षेत्रको खपत बढाउने स्पष्ट कार्ययोजना ल्याउन माग गर्दै उज्यालो नेपाल पार्टीले हाल एक महिना लामो देशव्यापी अभियान सञ्चालन गरिरहेको छ।




