ललितपुर, भदौ ८ । नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आगामी भदौ ११ गते ‘महिला उद्यमशीलता सम्मेलन २०८३’ आयोजना हुने भएको छ। महिलाको आर्थिक सशक्तीकरण, उद्यमशीलताको प्रवर्द्धन तथा आर्थिक रूपान्तरणमा महिला उद्यमीको भूमिका बढाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा नेपाल महिला संघको सहकार्यमा हुने सम्मेलनमा Startup, MSME तथा SME क्षेत्रमा कार्यरत महिला उद्यमीका चुनौती, लगानी तथा वित्तीय पहुँच, बजार विस्तार र प्रविधिको प्रयोगबारे छलफल हुनेछ।
सम्मेलनमा ८० भन्दा बढी महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी, B2B/B2C Networking, तीनवटा विषयगत प्यानल र ‘मेरो उद्यमशील यात्रा’ नामक Storytelling Session आयोजना गरिनेछ। साथै लगानी, वित्तीय पहुँच तथा सरकारी सेवासम्बन्धी जानकारी केन्द्र पनि सञ्चालन हुनेछ।
बिहान ८ बजेदेखि अपराह्न ६ बजेसम्म हुने सम्मेलनमा १० हजारभन्दा बढी सहभागी अपेक्षा गरिएको छ। सम्मेलनको समापनमा महिला उद्यमशीलताका लागि आगामी कार्यदिशा समेटिएको ‘Sanepa Declaration on Women’s Entrepreneurship’ सार्वजनिक गरिने आयोजकले जनाएको छ।
उद्यमशीलता, नवप्रवर्तन तथा रोजगारी उपसमितिका संयोजक खगेन्द्र आचार्यका अनुसार सम्मेलनले महिला उद्यमशीलता प्रवर्द्धनसँगै रोजगारी सिर्जना, उत्पादन वृद्धि र आत्मनिर्भरता बढाउन योगदान पुर्याउने लक्ष्य राखेको छ।




