काठमाडौं, भदौ ८। समुद्री सतहबाट करिब ४,२०० मिटर उचाइमा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकामा नेपाल टेलिकमले टुजी तथा फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ।
अत्यन्त विकट र उच्च हिमाली क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत उपकरण तथा प्राविधिक टोली पुर्याएर टावर जडान गरिएको टेलिकमले जनाएको छ।
सेवा विस्तारसँगै बडीमालिका क्षेत्र, त्रिवेणी पाटन तथा आसपासका बस्तीहरू दूरसञ्चार सेवाको पहुँचमा जोडिएका छन्। यसबाट स्थानीय बासिन्दाका साथै बडीमालिका दर्शन गर्न आउने भक्तजन, तीर्थयात्री तथा पदयात्रीलाई सञ्चार सम्पर्कमा सहजता हुने अपेक्षा गरिएको छ।




