चितवन, भदौ ९ । जिल्ला प्रहरी कार्यालय चितवनले १६८ किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार २०८२ भदौ ६ गते बिहान करिब ३ः४० बजे राप्ती नगरपालिका–१० स्थित चिप्लेटी भन्ने स्थानमा गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद कारलाई चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा कार चालक दिल्लीराम थारु र कारमा सवार कर्णबहादुर तामाङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूको शरीर तथा सवारीसाधन खानतलासी गर्दा कारको पछाडिको डिक्कीभित्र रातो प्लास्टिकले बाहिरबाट सेतो पानी टेपले बेरेर लुकाइराखेको अवस्थामा गाँजाजस्तो पदार्थ बरामद भएको थियो।
प्रहरीले चारपाटे आकारमा रहेका ३२ वटा पोकाबाट १६८ किलो ग्राम गाँजा बरामद गरेको जनाएको छ। पक्राउ परेका दुवै जनालाई कानुनबमोजिम आवश्यक प्रक्रिया पूरा गरी चितवन जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।




