काठमाडौं, भदौ १२ । रसुवामाथि चीनको विकट भूमिमा बनेको ठूलो ताल फुटेको छ। चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिकै बनेको उक्त ताल फुटेको पुष्टि गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले गरेका छन्। उनले चिनियाँ पक्षबाट आएको जानकारी उद्धृत गर्दै ताल फुटेको पुष्टि गरेका हुन्। नयाँ ताल बनेको यो क्षेत्र नेपालको रसुवागढी नाकाबाट मात्र १८ किलोमिटर उत्तरमा पर्छ।जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले पनि चिनियाँ पक्षबाट ताल फुटेको औपचारिक जानकारी प्राप्त भएको बताएका छन्। यससँगै नेपालका तल्लो तटीय क्षेत्रमा बाढीको उच्च जोखिम बढेको छ।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार तिब्बत-नेपाल सीमा क्षेत्रमा गएको विनाशकारी पहिरोपछि सयौँ मानिस बेपत्ता भइरहेका बेला पुनः बाढी आउन सक्ने उच्च जोखिमका कारण चीनले उद्धार कार्य स्थगित गरेको छ। सरकारी प्रसारण संस्था सीसीटीभीका अनुसार पहिरोको विशाल मलबेका कारण बनेको ताल भरिएर उद्धार टोलीहरू जाँदै गरेको क्षेत्रतर्फ ओभरफ्लो हुन थालेको छ। एएफपीलाई उद्धृत गर्दै सीसीटीभीले भनेको छ, “त्यसैले सबै उद्धार टोलीहरूलाई आ-आफ्नो स्थानमा तयारी अवस्थामा रहन र थप निर्देशनको प्रतीक्षा गर्न आदेश दिइएको छ।” सीसीटीभीका अनुसार यसअघि उक्त क्षेत्रमा पुगिसकेका आपत्कालीन उद्धार टोलीहरूलाई थप जोखिमबाट बचाउन एक किलोमिटर पछाडि हट्न निर्देशन दिइएको छ।




