काठमाडौं, भदौ १४ । धादिङको कृष्णभीरमा त्रिशूली नदीको बाढीले सडकको तल्लो भाग कटान गरेपछि काठमाडौं–मुग्लिङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
भोटेकोशी हुँदै आएको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव अत्यधिक बढेपछि सडकको जगमै कटान सुरु भएको हो। कटान बढ्दै गएपछि सडक भासिएर सवारी आवागमन नै जोखिमपूर्ण बनेको छ।
बिहान केही समय सञ्चालनमा आएको सडकमा पुनः कटान बढेपछि यातायात पूर्ण रूपमा रोकिएको हो। राजमार्ग अवरुद्ध हुँदा सयौँ सवारीसाधन र यात्रुहरू बाटोमै अलपत्र परेका छन्।
सडकको क्षति थप बढ्न सक्ने जोखिम रहेकाले तत्काल यातायात सञ्चालनमा ल्याउन कठिन देखिएको छ।




