काठमाडौं, भदौ १४ । चितवनमा फेला परेका २३३ शवमध्ये ६ जनाको सनाखत भएको छ भने पहिचान हुन नसकेका २२७ शवको डीएनए नमुना लिएर वैज्ञानिक विधिबाट सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गरिएको छ।
शनिबार खाल्डो खनी पहिचान हुन नसकेका शवहरूलाई सुरक्षित रूपमा व्यवस्थापन गरिएको हो। प्रत्येक शवबाट आवश्यक डीएनए नमुना संकलन गरी छुट्टाछुट्टै संकेत नम्बर राखिएको र शवसँग सम्बन्धित विवरणसमेत अभिलेखमा सुरक्षित गरिएको जनाइएको छ।
विपद्का समयमा अस्पताल तथा स्वास्थ्य संस्थामा रहेका पहिचान नभएका शव व्यवस्थापनसम्बन्धी निर्देशिकाले पनि शवको सनाखत गरी अन्तिम संस्कारका लागि परिवारलाई हस्तान्तरण गर्न सक्ने अवस्था नआएसम्म आवश्यक सूचना, नमुना र प्रमाण सुरक्षित राख्नुपर्ने व्यवस्था गरेको छ।
सोहीअनुसार चितवनमा व्यवस्थापन गरिएका शवको डीएनए नमुना र अन्य विवरण सुरक्षित राखिएको जनाइएको छ। भविष्यमा आफन्तले डीएनए नमुना उपलब्ध गराउँदा शवबाट संकलित नमुनासँग मिलान गरी पहिचान गर्न सकिनेछ। डीएनए मिलेको अवस्थामा सम्बन्धित शव आफन्तको जिम्मा लगाएर अन्तिम संस्कारका लागि हस्तान्तरण गरिने बताइएको छ।
शव व्यवस्थापनको प्रक्रिया अन्तर्राष्ट्रिय रेडक्रस समितिको मापदण्डअनुसार गरिएको जनाइएको छ। यसरी शवबाट संकलित नमुना तथा अभिलेख सुरक्षित राख्दा भविष्यमा पहिचान खुलाउन र आफन्तलाई शव हस्तान्तरण गर्न आवश्यक प्रमाण सुरक्षित रहनेछ।
पहिचान हुन नसकेका शवलाई तत्काल अन्तिम संस्कार गर्नुको सट्टा वैज्ञानिक प्रमाण सुरक्षित राखेर व्यवस्थापन गरिएको यो प्रक्रियाले विपद्का बेला मानवीय संवेदना र मृतकका आफन्तको अधिकारलाई समेत ध्यान दिएको देखिन्छ।




