काठमाडौं, भदौ १४ । रसुवा बाढीका कारण हालसम्म ७ सय ५२ जनाको मृत्यु भएको छ भने २ हजार ५ सय २ जना अझै सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले भदौ १४ गते दिउँसो १ बजे जारी गरेको अद्यावधिक विवरण अनुसार बाढीका कारण विभिन्न जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ।
प्राधिकरणका अनुसार सबैभन्दा बढी चितवनमा २५९, नवलपरासी पूर्वमा १८४ र नवलपरासी पश्चिममा १०० जनाको शव फेला परेको छ। यस्तै गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ। घटनामा २ सय ३९ जना घाइते भएका छन् भने प्रभावित क्षेत्रमा ६ वटा सर्जिकल मेडिकल टोली परिचालन गरिएको छ।
सम्पर्कविहीन रहेका २५ सय २ जनामध्ये जलविद्युत आयोजनाका ९३३ जना, ५९२ जना विदेशी नागरिक र रसुवाका मात्रै ५६२ जना रहेका छन्।
८ हजार ७ सय बढीको उद्धार
बाढी प्रभावित क्षेत्रबाट हालसम्म ८ हजार ७ सय ३० जनाको सफल उद्धार गरिएको छ। उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १९ हजार ८ सय ९५ जना सुरक्षाकर्मी मैदानमा खटिएका छन्। हालसम्म ३६३ पटक हवाई उडान गरी उद्धार कार्य र राहत सामग्री वितरण भइरहेको छ।
प्रभावित क्षेत्रमा ३७ ट्रक, १३ बोलेरो र हेलिकप्टरमार्फत खाद्यान्न, गैरखाद्यान्न सामग्री तथा सञ्चार सेटहरू पठाइएको छ।
सरकारले राहत स्वरूप रसुवा र नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख र १५ वटा पालिकालाई ६ करोड ७५ लाख रुपैयाँ नगद पठाइसकेको जनाएको छ।




