काठमाडौं, भदौ, १९ । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको १० औँ दिन (भदौ १९ गते बिहान) रसुवास्थित त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जना प्राविधिकलाई जीवितै उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको छ। नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले आयोजनाका मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कविर महर्जनको सकुशल उद्धार गरेको हो।
लामो समयसम्म चिसो लेदोभित्र थपिएर फसेका कारण उद्धार गरिएका मेकानिकल सुपरभाइजर कबिर महर्जनमा ‘माइल्ड हाइपोथर्मिया’ (अत्यधिक चिसोका कारण शरीरको तापक्रम घट्ने समस्या) देखिएको छ। हातगोडा गल्नुका साथै राम्रोसँग चल्न नसक्ने अवस्थामा रहेका महर्जनलाई प्राथमिक उपचारपश्चात् थप तथा प्रभावकारी उपचारका लागि तत्कालै हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको थियो।
सुरुङबाट जीवितै निकालिएका साह र महर्जन दुवैलाई छाउनीस्थित सैनिक अस्पताल पुर्याएर उपचार प्रक्रिया अघि बढाइएको नेपाली सेनाले जनाएको छ। साथै, सुरुङभित्र अन्य व्यक्तिहरू पनि फसेको हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै उद्धार टोलीले थप खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।




