काठमाडौं, भदौ २२ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज, भदौ २२ गते सोमबार, नेपालभर राष्ट्रिय शोक मनाइँदै छ।
राष्ट्रिय शोकका अवसरमा नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ।
बाढीमा परी ज्यान गुमाएकाप्रति सम्मान तथा शोक व्यक्त गर्न सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। यही भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो।
सरकारले विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।




