काठमाडौं, भदौ २४ । रसुवाको भोटेकोशी बाढी तथा पहिरो प्रभावित क्षेत्रमा निरन्तर उद्धार र राहतमा खटिएका सुरक्षाकर्मीहरूको अदम्य साहसको प्रशंसा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्मा उच्च सम्मान व्यक्त गरेका छन्।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले विपद्को घडीमा आफ्नो ज्यानको बाजी लगाएर नागरिकको रक्षामा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानहरूको समर्पणको मुक्तकण्ठले प्रशंसा गरे।
संसद्को रोस्ट्रमबाट सम्बोधन गर्दै रास्वपा सभापति लामिछानेले भने:
“हाम्रो सुरक्षा फौजको साहस र समर्पणमा कुनै सिमीतता छैन । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरु आज जसरी दत्तचित्त भएर खटिएका छन् त्यो केवल जागिरे ड्यटी हैन त्यो त नागरिक प्रतिको सर्वोच्च निष्ठा हो । जहा मृत्यु लुकेर बसेको हुन्छ त्यहा अर्को पहिरो खस्ने संशय हुन्छ । त्यस्तो मृत्युको कालो सुरुङभित्र आफ्ना नागरिकलाई बचाउन उहाँहरु जसरी आफ्नो ज्यान हत्केलामा राखेर होमिनु भएको छ त्यो अदम्य साहस देखेर म मात्र हैन सिंगो देश नतमस्तक भएको छ । उहाँहरुको त्यो आँट उर्जा र नागरिकप्रतिको निस्वार्थ दायित्यबोधलाई म यस गरिमामय संसदको रोष्ट्रममबाट उच्च सम्मान सहित सल्युट गर्न चाहन्छु ।”
अप्ठ्यारो परिस्थितिमा पनि अहोरात्र खटिएर नागरिकको जीउधनको रक्षा गर्ने सुरक्षाकर्मीहरूको यस्तो योगदान राष्ट्रका लागि अतुलनीय रहेको उनले बताए।




