काठमाडौं, भदौ ३० । नेपाली नारीहरूले आज अरुन्धतीसहित सप्तऋषिको पूजा–आराधना गरी ऋषिपञ्चमी पर्व मनाउँदैछन्। भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा बिहान स्नान गरी दत्तिउन, गोबर, माटो तथा खरानी प्रयोग गर्ने र सप्तऋषिको पूजा गर्ने परम्परा छ।
पूजामा अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रसहित अरुन्धतीको आराधना गरिन्छ। धार्मिक मान्यताअनुसार रजस्वलाका समयमा जानी–नजानी भएका त्रुटिबाट मुक्ति पाउन ऋषिपञ्चमीमा पूजा गर्ने चलन रहेको छ।
यस दिन सामा, कागुनो, कन्दमूल, कर्कलालगायतका खाद्य पदार्थ सेवन गरी एक छाक हविष्य बस्ने परम्परा पनि छ। काठमाडौंको टेकु, मूलपानीलगायत देशभरका ऋषेश्वर मन्दिरमा आज महिला भक्तजनको भीड लागेको छ।




