काठमाडौं, भदौ ३१ । त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त बनेको पृथ्वी राजमार्गको कृष्णभीर खण्ड भोलि असोज १ गते बिहान ६ बजेदेखि पूर्ण रूपमा यातायात सञ्चालनका लागि खुला हुने भएको छ।
त्रिशूली नदीको कटानबाट कृष्णभीर क्षेत्रमा करिब १०० मिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भई ठप्प बनेको यातायात पूर्वाधार विकास मन्त्रालयको अथक प्रयासपछि सञ्चालनमा आउने भएको हो। मन्त्रालयले आवश्यक जनशक्ति, उपकरण तथा स्रोत–साधनको अधिकतम परिचालन गरी युद्धस्तरमा नयाँ ट्र्याक निर्माण तथा सडक पुनर्स्थापनाको काम सम्पन्न गरेको छ।
गत केही दिनदेखि वैकल्पिक तथा परीक्षणका रूपमा सीमित सवारीसाधन मात्रै आवतजावत गराइएको यस खण्डमा बाँकी ग्राभेलिङ र रोलिङको काम अन्तिम चरणमा पुगेसँगै भोलिबाट सबै प्रकारका हिला तथा निजी सवारीसाधनका लागि दुईतर्फी रूपमै बाटो पूर्ण रूपमा खुला गरिने मन्त्रालयले जनाएको छ।
राजमार्ग सञ्चालनमा आएपछि राजधानी काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने मुख्य ट्रान्जिट मार्ग सहज भई यात्रा गर्ने हजारौं यात्रु तथा ढुवानी व्यवसायीहरूले ठूलो राहत महसुस गर्नेछन्।




