काठमाडौं, असोज १ । त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको पृथ्वी राजमार्गको कृष्णभीर सडकखण्ड पुनर्स्थापनापछि आज बिहान ६ बजेदेखि सबै प्रकारका सवारी साधनका लागि दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार पृथ्वी राजमार्गको उक्त खण्ड अवरुद्ध रहेका बेला वैकल्पिक मार्गका रूपमा रहेको मुग्लिन–नारायणगढ सडक खण्डमा तुइन खोलामा ‘स्लोप स्टेबलाइजेसन’ को काम भइरहेकोले सो सडक आंशिक रूपमा बन्द गरिएको थियो।
तर, अब कृष्णभीर सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आइसकेको र अर्को सूचना जारी नभएसम्मका लागि मुग्लिन–नारायणगढ सडक खण्ड पनि दुवैतर्फ पूर्णरूपमा सुचारू रहने मन्त्रालयले जानकारी गराएको छ। यससँगै चाडपर्वको समयमा यात्रा गर्ने यात्रुहरूलाई आवतजावतमा सहजता हुने भएको छ।




