न्यूयोर्क, असोज ८ । न्यूयोर्कमा आयोजित ‘Climate Action and Just Transition’ सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई तत्काल कार्यान्वयनमा लैजान विश्व समुदायलाई आग्रह गर्नुभएको छ।
उहाँले नेपालमा हालै गएको विनाशकारी बाढीलाई ‘Himalayan Tsunami’ को संज्ञा दिँदै यसबाट कूल गार्हस्थ्य उत्पादनको करिब १५ प्रतिशत (५ अर्ब अमेरिकी डलरभन्दा बढी) क्षति भएको जानकारी दिनुभयो। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम रहे पनि देशले जलवायु परिवर्तनको गम्भीर असर भोग्नुपरेको उल्लेख गर्दै मन्त्री खनालले यसलाई परोपकारको नभई न्याय र अस्तित्वको विषयका रूपमा लिनुपर्नेमा जोड दिनुभयो।
साथै, उहाँले विपद्पूर्व नै पर्याप्त जलवायु वित्त सुनिश्चित गर्न, ‘Loss and Damage Fund’ लाई प्रभावकारी बनाउन, प्रारम्भिक चेतावनी प्रणाली विस्तार गर्न तथा विश्व तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्रै सीमित राख्न नेपालको तर्फबाट जोडदार माग गर्नुभएको छ।




