काठमाडौं, असोज ११ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार बिहान करिब ३:०० बजे महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको छ। उनलाई हाल टेकुस्थित कार्यालयमा राखिएको छ।
प्रहरीले सुरुमा उनको सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा ल्याइएको बताए पनि पछिल्ला दिनहरूमा न्यायपालिकाका प्रक्रियामा अनावश्यक चासो देखाएको, राजनीतिक गतिविधि बढाएको तथा उनीविरुद्ध विभिन्न उजुरीहरू परेका कारण पक्राउ गरिएको उच्च स्रोतले जनाएको छ। वि.सं. २०७५ साल पुस १७ गते प्रधानन्यायाधीश नियुक्त भएका जबराविरुद्ध २०७८ साल फागुन १ गते संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए।
हालै सर्वोच्च अदालतले महाअभियोगसम्बन्धी रिट खारेज गरेसँगै चर्चामा रहेका उनको यो पक्राउबारे प्रहरीबाट थप आधिकारिक विस्तृत विवरण आउन बाँकी छ।




