काठमाडौं, असोज ११ । मनकामना पहुँच मार्गको दोस्रो घुम्ती मुनि पहिरो गएपछि मनकामना जाने सडकमा सवारी आवागमन केही प्रभावित भएको छ । यद्यपि, मनकामना मन्दिर दर्शन तथा केबलकार सेवा भने सञ्चालनमा रहेको जनाइएको छ ।
पहिरोका कारण सवारी साधनलाई साविकको पार्किङ स्थलसम्म पुग्न रोक लगाइएको छ । पूर्वतर्फबाट आउने यात्रुका लागि राजमार्गको देब्रेतर्फ मुग्लिनतर्फ करिब ७० मिटर अगाडि वैकल्पिक पार्किङको व्यवस्था गरिएको छ। त्यहाँबाट पैदल मार्ग हुँदै अगाडि जान सकिनेछ ।
मौसम अनुकूल हुनासाथ सडक मर्मत कार्यलाई तीव्रता दिइने जनाइएको छ । सडकमा समस्या भए पनि भक्तजनले मनकामना पुगेर दर्शन गर्न सक्ने र केबलकार सेवा सुरक्षित रूपमा सञ्चालनमा रहेको व्यवस्थापनले जनाएको छ । यात्रु तथा भक्तजनलाई आवश्यक सहयोग र समझदारीका लागि अनुरोध गरिएको छ ।




