भरतपुर, २३ भदौ ।
पठन सँस्कृतिको विकासमा समर्पित सम्पूर्ण किताब नारायणगढले चौथो वार्षिकोत्सवको अवसरमा एक जना छात्रालाई साइकल प्रदान गरेको छ । पाँचौँ वर्ष प्रवेशको अवसरमा बिहीबार सम्पूर्ण किताब पसलमै एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय माध्यमिक विद्यालय बाह्रघरेमा कक्षा ९ मा अध्ययनरत ओमकुमारी थापामगरलाई एक थान साइकलसहित शैक्षिक तथा सरसफाइका सामग्री सहयोग गरिएको हो ।
साहित्यसँग सम्बन्धित पुस्तक र स्टेशनरी बिक्री गर्दै आएको सम्पूर्णले चार वर्षअघि बालकुमारी कलेजरोड, नारायणगढमा पसल उद्घाटनका बेला पनि विद्यार्थीलाई शैक्षिक सामग्री दिएको थियो । त्यसयता हरेक वर्ष भदौ २३ गते सामुदायिक विद्यालयका विपन्न एवं जेहेन्दार विद्यार्थीलाई सहयोग गरेर वार्षिकोत्सव मनाउँदै आएको सञ्चालक शिरिषा सापकोटाले बताइन् ।
सम्पूर्ण किताबको चौथो वार्षिकोत्सव एवं छात्रालाई साइकल तथा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा अग्रज साहित्यकार गोविन्दराज विनोदी, विद्यालयका प्रधानाध्यापक ऋषिराम खरेल, नेपाल पुलिस कलेज भरतपुरका प्रहरी उपरीक्षक प्रकाश मल्ल, मास्के पुस्तक पसलकी संचालक रजनी मास्के, पठन सँस्कृति अभियन्ता लेखराम सापकोटालगायतले बोलेका थिए ।




