काठमाडौँ, १३ असोज ।
सत्ता गठबन्धनका साझेदार पाँच दलबीच करिब दुई महिनादेखि निर्वाचन क्षेत्र अनुसार सिट बाँडफाँटको रस्साकस्सी चलिरहेको छ । ठूलो कसरतपछि गठबन्धनभित्रका दलहरु मुख्य दल नेपाली काँग्रेसलाई ८६ सिट दिन सहमत भएको समाचार स्रोतको दाबी छ ।
प्राप्त जानकारी अनुसार, प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गत १६५ सिट बाँडफाँट अन्तिम चरणमा पुगेको छ। जसअनुसार कांग्रेसले ८६ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने छ अन्यत्र भने अन्य दललाई सहयोग गर्नेछ ।
कांग्रेसले पाउने निर्वाचन क्षेत्रमा कञ्चनपुर-३, कञ्चनपुर-२, डडेलधुरा, दार्चुला, कैलाली-१, ४, ५, अछाम-२, बाजुरा, सुर्खेत १ र २, दैलेख १ र २, मुगु, नवलपरासी पश्चिम-२, बर्दिया-१ रहेको छ । चितवन १ र २, गोरखा–१, मनाङ, कास्की-१, तनहुँ १ र २, स्याङ्जा १ र २, नवलपरासी पूर्व १ र २, मनाङ, म्याग्दी, पर्वत, गुल्मी-१, पाल्पा-१, अर्घाखाँची, रुपन्देही ३, ४ र ५, कपिलबस्तु २ र ३, दाङ-३ र बाँके–३ निर्वाचन क्षेत्रबाट पनि कांग्रेसले उम्मेदवारी दिने सहमति भएको छ ।
पाँचथर, इलाम-२, झापा १, ३ र ४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ १, २, ३ र ६, सुनसरी २, ३ र ४, ओखलढुंगा, उदयपुर–१, सप्तरी ३ र ४, सिरहा १ र २ धनुषा २, ३ र ४, महोत्तरी २ र ३ निर्वाचन क्षेत्र पनि कांग्रेसले लिने सहमति भएको छ । सर्लाही–४, बारा-१, पर्सा ३ र ४, सिन्धुली-१, रसुवा, धादिङ–२, नुवाकोट-२, काठमाडौं–१, १०, ३, ४, ५ र ६, भक्तपुर १ र २, ललितपुर–१, काभ्रे–२, सिन्धुपाल्चोक–२ र मकवानपुर-१ कांग्रेसले लिने बताइएको छ ।
सकसमा शेरबहादुर
गठबन्धनमा सहमति गरे पनि कांग्रेसभित्रको विवादले सभापति शेरबहादुर देउवा भने अप्ठ्यारोमा छन् । डा. शेखर कोइराला पक्षलाई पेलेर अघि बढेका देउवा सत्ता गठबन्धनमा भने नरम देखिए । यो थाहा पाएको शेखर समूहले आफ्नो पक्षले ४० प्रतिशत भाग पाउनुपर्ने अडान राखेको छ। आन्दोलनमै उत्रिएको छ। दबाब भेला तथा पार्टी कार्यालयमै धर्नाको कार्यक्रम यो समूहले गरिसकेको छ ।




