चितवन, २७ असोज ।
भौगोलिक हिसाबले देशको मध्यभागमा रहेको चितवन जिल्ला राजनीतिक हिसाबले राजधानी काठमाडौँपछि चर्चामा आइरहन्छ । चितवन चर्चामा आउनुको एउटा कारण यो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला हुनु पनि हो । उनै प्रचण्डले यसपटक गृह जिल्ला छाडेर गोरखाबाट प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्ता गराएका छन् । चितवनका सबै क्षेत्रमा सत्ता गठबन्धन बलियो हुँदाहुँदै प्रचण्डले किन गोरखा रोजे ? भन्ने अनुत्तरित नै छ ।
चितवनमा प्रतिनिधिसभा सदस्यको लागि ३ वटा र प्रदेशसभा सदस्यको लागि ६ वटा क्षेत्र तोकिएको छ । क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार कांग्रेसका नेता डा. विश्व पौडेल उम्मेदवार छन् । पौडेलले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्य पदमा भिड्न आइपुगेका हुन् । अर्थ क्षेत्रको विज्ञका रुपमा आफ्नो पहिचान बनाइसकेका पौडेललाई भावी अर्थमन्त्रीका रुपमा समेत हेर्न थालिएको छ ।
सत्ता गठबन्धनबाट प्रदेशसभा सदस्यतर्फ चितवन १ (क) मा नेपाली कांग्रेसका किरणभूषण सिंह वली र १ (ख) मा नेकपा एकीकृत समाजवादीका कृष्ण खनाल उम्मेदवार छन् । १ (क) कांग्रेसको राम्रो पकड भएको क्षेत्र हो । १ (ख) एमालेको पकड क्षेत्र भए पनि सत्ता गठबन्धनको कारण प्रदेशसभाका पूर्वसदस्य एवं मन्त्री खनाललाई दोस्रो कार्यकालका लागि निर्वाचित हुन त्यति कठिनाई पर्ने छैन ।
सत्ता गठबन्धनविरुद्ध नेकपा एमालेबाट चितवन १ मा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे उम्मेदवार गरेका छन् । यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित पाण्डेलाई यसपटक भने सत्ता गठबन्धन सबैभन्दा ठूलो चुनौती बनेर उभिएको छ । यसअघि तालमेल गरिएको माओवादी केन्द्र र एमालेबाट चोइटिएको एकीकृत समाजवादी सत्ता गठबन्धनमा रहेकोले पाण्डेको जित अनिश्चित छ । २०७० सालको संविधानसभा सदस्य निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यहीँ क्षेत्रबाट पाण्डे विजयी भएका थिए । यस क्षेत्रमा जनताले नयाँ अनुहार खोजेकोले यसपटक सत्ता गठबन्धनकै पल्ला भारी देखिन्छ ।
एमालेबाट प्रदेशतर्फ १ (क) मा स्थानीय नेता जेएन थपलिया र १ (ख) मा प्रकाश खनाललाई प्रदेशसभा सदस्यमा उम्मेदवार बनाएको छ । थपलिया र खनालको प्रभाव यस क्षेत्रमा रहे पनि सत्ता गठबन्धनको अगाडि उनीहरुको केही जोड चल्ने देखिन्न । निर्वाचन क्षेत्र चितवन १ मा राप्ती, खैरहनी र रत्ननगर नगरपालिका पर्छन् ।
क्षेत्र नम्बर २ मा श्रेष्ठ अगाडि
चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा सत्तारुढ गठबन्धनको साझा उम्मेदवारका रूपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राज्यमन्त्री उमेश श्रेष्ठ उम्मेदवार छन् । भरतपुर महानगरपालिका ५, कल्याणपुरका स्थायी बासिन्दा श्रेष्ठ विकासप्रेमी नेताका रुपमा परिचित छन् । स्थानीय निर्वाचनमा भरतपुरको मेयरमा रेनु दाहाललाई निर्वाचित गराउन विशेष भूमिका खेलेका श्रेष्ठ गठबन्धनबाट सबैभन्दा बलियो उम्मेदवारका रुपमा देखा परेका छन् ।
शिक्षा, स्वास्थ्य, ऊर्जा र पर्यटन क्षेत्रमा ठूलो लगानी गरेका श्रेष्ठले अबका दिनमा राजनीति र समाजसेवामार्फत् आफूलाई जनतामा समर्पित गर्ने पवित्र भावनाले आफू चितवन २ बाट प्रतिनिधिसभा सदस्य पदमा प्रत्यासी रहेको बताए । उनले आफूलाई चितवन क्षेत्र नम्बर २ का जनताले अत्याधिक बहुमतले विजयी गराउनेमा आफू ढुक्क रहेको सुनाए । कांग्रेस नेता श्रेष्ठले आफू प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आफूले पाउने तलब र भत्ता नलिने घोषणा गरिसकेका छन् ।
श्रेष्ठविरुद्ध नेकपा एमालेबाट नेता कृष्णभक्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि उम्मेदवारी दर्ता गराएका छन् । पोखरेल विगतमा यसै क्षेत्रबाट निर्वाचित भए पनि यसपटक एमाले टुक्रिएको र माओवादी केन्द्रको साथ कांग्रेसलाई रहेकोले अन्तिम नतिजा उनको पक्षमा पर्ने देखिँदैन ।
स्वतन्त्र पार्टीका लामिछाने रैथाने नभएको र उनले पहिले चितवन ३ बाट उम्मेदवारी दिने चर्चा चलेकोमा अन्तिम समयमा आएर चितवन २ बाट उम्मेदवारी दर्ता गराएको कारण उनकै पार्टीका मतदाता उनीसँग चिढिएका छन् । यसले कांग्रेसका श्रेष्ठलाई जित्न सघाउने आँकलन गरिएको छ ।
सत्तारुढ गठबन्धनबाट प्रदेशसभा सदस्यतर्फ २ (क) मा माओवादी नेता घनश्याम दाहाल र २ (ख) मा कांग्रेस नेता उत्तम जोशीको उम्मेदवारी परेको छ । एमालेबाट प्रदेश २ (क) मा कृष्णप्रसाद सिलवाल र २ (ख) मा देवी ज्ञवाली उम्मेदवार छन् । सिलवाल र ज्ञवालीले दाहाल र जोशीलाई टक्कर दिए पनि जित्न नसक्ने देखिन्छ । सत्ता गठबन्धन बलियो देखिएको चितवन २ मा भरतपुर महानगरपालिकाभित्रका १० वटा वडा, कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका पर्छन् ।
चितवन ३ मा त्रिपक्षीय भिडन्त
क्षेत्र नम्बर ३ मा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन् । यो क्षेत्रमा नेकपा एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको थियो तर अन्तिम अवस्थामा एमालेले केन्द्रबाट निर्वाचन अधिकृतको कार्यालयमा पत्र पठाई न्यौपानेको उम्मेदवारी फिर्ता लिई नेपाली काँग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन जनाएको छ । राप्रपा उपाध्यक्ष विक्रम पाण्डे पनि यही क्षेत्रबाट उम्मेदवार छन् । यसरी हेर्दा चितवन ३ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ ।
गत २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्डले वाम गठबन्धनबाट चुनाव लडेर पाण्डेलाई हराएका थिए । गठबन्धनका उम्मेदवार डा. अधिकारी भरतपुर अस्पताल विकास समितिको अध्यक्ष पदबाट राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा आएका छन् । पेशागत हिसाबले लोकप्रिय अधिकारीले लोकप्रिय मत प्रशस्तै ल्याउने सम्भावना रहेकोले उनको पक्षमा अन्तिम नतिजा आउने देखिन्छ । एमालेका असन्तुष्टहरुले पनि अधिकारीलाई मत दिन सक्ने अनुमान गरिएको छ ।
प्रदेशसभा सदस्यतर्फ ३ (क) मा सत्तारुढ गठबन्धनले कांग्रेसका नेता प्राडा सूर्यकान्त घिमिरे र ३ (ख) मा माओवादी केन्द्रका नेता एवं माडी नगरपालिकाका पूर्वमेयर ठाकुर ढकाललाई उम्मेदवार बनाएको छ । नेकपा एमालेबाट ३ (क) मा कृष्ण भुर्तेल र ३ (ख) मा सरस्वती विष्ट उम्मेदवार छन् । एमालेका भुर्तेल र विष्टको तुलनामा सत्ता गठबन्धनका घिमिरे र ढकाल बलियो देखिएका छन् । यो क्षेत्रमा भरतपुर महानगरपालिकाभित्रका १९ वटा वडा र माडी नगरपालिका पर्छन् ।




