तनहुँ, ३१ असोज ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावी अभियानलाई तीब्र बनाएका छन् । बिहानदेखि बेलुकासम्म उनी घरदैलोमा व्यस्त हुन थालेका छन् । उनले घरघर पुगेर समवयका मतदातासँग तस्वीर खिचाउनेदेखि किरियापुत्रीसँग भेटघाटसम्म भ्याएका छन् । घरदैलोको क्रममा भेट भएका सबैसँग उनले यसपालि आफूलाई विजयी गराउन भोट मागिरहेका छन् ।
कार्यकतासँगको भेटघाटका क्रममा नेता पौडेलले लोकतन्त्र र संविधान जोगाउन चुनावमा सत्तारुढ दलबीच गठबन्धन गरिएको बताएका छन् । गठबन्धन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशमा सुशासन कायम गर्न आवश्यकता देखिएकोले गठबन्धन गरी देशलाई निकास दिन लागेको बताए ।
विगतमा आफूले ल्याएका विकासका केही योजना अधूरा रहेको भन्दै उनले भने, “ती अधूरा काम पूरा गर्ने इच्छा रहेकाले तपाईंहरुको घरदैलोमा भोट दिनु भन्न आएको हुँ ।’’ गाउँका युवा शक्तिलाई विदेशिनबाट रोक्नका लागि स्वदेशमा बसेर रोजगारी गर्ने अवसर दिने मुख्य लक्ष्य रहेको नेता पौडेलले बताए । सहिदको बलिदानबाट प्राप्त भएको जनताको अधिकारलाई कुण्ठित गर्ने प्रपञ्च रचिएको हुँदा त्यसको रक्षाको लागि खबरदारी गर्न गठबन्धन आवश्यकता बनेको उनको भनाइ थियो ।
सत्ता गठबन्धनबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार एवं नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य हरिबहादुर चुमानले गठबन्धन जनताले महसुस हुने गरी विकास निर्माणका काम गर्ने एजेण्डासहित मतदाताको घरदैलोमा आएको बताए ।
देशमा सुशासन कायम गर्न सकिए मात्रै प्रजातन्त्रको स्थायित्व र भ्रष्टाचारलाई निरुत्साहित गर्न सकिने उनको भनाइ थियो । कांग्रेस एक्लैले दुई तिहाइको बहुमत ल्याउन नसक्ने हुँदा देशको विकासमा काँचुली फेर्न गठबन्धन गरेर अघि बढ्न आवश्यक देखिएकाले सँगै हातोमाले गर्दै अघि बढेको नेता चुमानले बताए ।
गठबन्धनका उम्मेदवारहरूले कार्यकर्ता भेटघाट कार्यक्रमको तालिका बनाएर तनहुँ क्षेत्र नं १ अन्तर्गतका विभिन्न पालिकाका वडा वडामा पुगेर घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् ।




