बीबीसी न्यूज । भारतको उत्तरपश्चिम क्षेत्रमा कट्टरपन्थी हिन्दू धर्मगुरु सुधीर सुरीको गोली हानी हत्या भएको छ ।
सिख धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र मानिने स्थलहरूमध्ये एक विश्व प्रसिद्ध गोल्डन टेम्पलमा अवस्थित अमृतसरमा शुक्रवार विरोध प्रदर्शन गर्ने क्रममा ५८ वर्षीय सुरीको हत्या भएको हो । उनी कट्टरपन्थी धार्मिक समूह हिन्दू शिवसेनाका स्वघोषित नेता थिए ।
सुरीको हत्यासँग सम्बन्धित रहेको आशङ्कामा एक स्थानीय व्यापारीलाई पक्राउ गरिएको अधिकारीहरूले बताएका छन् । पञ्जाब राज्यका प्रहरी महानिर्देशक गौरव यादवका अनुहार हाल ती सन्दिग्ध व्यक्तिसँग सोधपुछ भइरहेको छ ।
‘यस घटनाको पछाडि जो सुकै होस् र जसले षड्यन्त्र गरेको छ सबै पत्ता लगाउने छौँ र जो जति संलग्न छन् उनीहरू सबैलाई पक्राउ गर्नेछौँ’ उनले भने ।
भारत र अन्य देशमा रहेका सिखहरूले यसअघि सुरीलाई आफ्नो आस्था र समुदायको बारेमा अपमानजनक टिप्पणी गरेको आरोप लगाएका थिए । प्रहरीका अनुसार सुरी हिन्दू देवताहरूको अपमान गरिएको भनिएको घटनाविरुद्ध प्रदर्शन गर्न अमृतसरस्थित स्थानीय मन्दिर बाहिर उपस्थित थिए ।
पछिल्ला केही वर्षहरूमा अमृतसरमा स्पष्ट रूपमा धार्मिक रूपमा प्रेरित हत्याहरू भएका छन् । गत सेप्टेम्बरमा गोल्डन टेम्पल नजिकै चुरोट पिएको र नशामा रहेको आरोपमा एक व्यक्तिको सार्वजनिक रूपमा हत्या भएको थियो । गत वर्ष मन्दिरनजिकै अपवित्र कार्य गर्न खोजेको आशङ्कामा एक व्यक्तिलाई कुटपिट गरेर मारिएको थियो ।




