चितवन, १९ कात्तिक ।
चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेद्वार उमेश श्रेष्ठले शिक्षित युवाहरुबाट नै देशले समृद्धि हासिल गर्न सक्ने बताएका छन । चुनावी अभियानका क्रममा शनिबार ईच्छाकामना गाउँपालिकास्थित चुम्लिङ्गटारमा युवा तथा विद्यार्थीसँगको भेटघाट कार्यक्रममा श्रेष्ठले शिक्षाबाट बरोजगारी अन्त्य गर्न सकिने र समृद्धि हासिल गर्न सकिने बताएका हुन् ।
आफू पनि यही शिक्षा क्षेत्रबाट नै स्थापित र सफल भएको बताउँदै उनले युवाहरु शिक्षित र उद्यमशील हुनुपर्नेमा जोड दिए । ‘तपाईहरु शिक्षित हुनुस् । उद्यमशील बन्नुस् । मेहनत गर्नुस् । देशको समृद्धि तपाईंहरुको हातमा छ । त्यसैले एक मिनेट पनि खेर नफाल्नुस्’ श्रेष्ठले भने ।
युवाहरुले देशमा उज्यालो ल्याउन सक्ने भन्दै युवानै देशको मेरुदण्ड रहेको बताए । देश बनाउने जिम्मेवारी र दायित्व युवाको भएपनि दैनिक दुईहजारको हाराहारीमा युवाहरु विदेशिनु पर्ने दुःखद बिषय भएको उनले बताए ।
‘देशको जनसंख्याको अधिकांश उत्पादनशील, उद्यमशील युवाहरु हुनुहुन्छ । तपाईहरुले आफूले जीवन खेर फाल्नु हुंँदैन । स्वदेशमै केही गर्नुपर्छ ’ श्रेष्ठले भने ।
युवाहरुले स्वरोजगार र आत्मनिर्भर बन्ने काम गर्नुपने भन्दै उनले युवाको रोजगारीको लागि लोकतान्त्रिक बामगठबन्धनलाई मत दिएर जिताउन आग्रह गरे । ‘युवाहरुले कार्यक्रम ल्याउनुस, योजना ल्याउनुस हामी युवाको साथमा छौं’ श्रेष्ठले भने । देश र युवाहरुको भविष्य उज्यालो पार्न पनि लोकतान्त्रिक वाम गठबन्धनको जित आवश्यक रहेको उनको भनाई थियो ।





