एजेन्सी २० कात्तिक
एक महिलामाथि बलात्कारकाे आराेपमा श्रीलंकाका क्रिकेटर दानुष्का गुणतिलका पक्राउ परेका छन् ।३१ वर्षीय श्रीलंकाली क्रिकेटर दानुष्का बलात्कारको आराेपमा अष्ट्रेलियाको सिड्नीबाट पक्राउ परेकाे त्यहाँ स्थित विभिन्न सञ्चारमाध्ययमले जनाएका छन् ।
अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार उनलाई सिड्नीको एक होटलमा २९ वर्षीया महिलासँगै प्रहरीले पक्राउ गरेको हाे ।
क्रिकेटका समिक्षक रेक्स क्लेटेन्टाइनले सामाजिक सञ्जालमा दानुष्का बलात्कार आरोपमा शनिबार पक्राउ परेको उल्लेख गरेका छन् । उनका अनुसार दानुष्कासँगै रहेका उनका साथीहरूले पक्राउ परेका उनलाई सिड्नीमै छाडेर हिँडेका हुन् ।
दानुष्का खेलका क्रममा तीन हप्ताअघि घाइते भएर उपचार गर्दै रेस्टमा बसेका थिए । उनकाे ठाउँमा एशेल बंडाराले टिममा उनको स्थान लिएका थिए । तर टिम म्यानेजमेन्टले उनलाई फर्काउनुको साटो अष्ट्रेलियामा टोलीसँगै राखेको थियो ।




