प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन अब एक हप्ता पनि बाँकी छैन । आगामी आइतबार देशभर एकसाथ हुने निर्वाचनबाट प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने ११० जना समानुपातिक प्रतिनिधित्वबाट चयन हुनेछन् । ५५० सदस्यीय प्रदेशसभामा भने ३३० जना प्रत्यक्ष निर्वाचन प्रणाली र २२० सदस्य समानुपातिक प्रतिनिधित्वका आधारमा चयन हुनेछन् ।
निर्वाचन हुने दिनभन्दा ४८ घण्टाअघि मौन अवधि सुरु हुने भएकोले उम्मेदवारहरुसँग प्रचारप्रसारका लागि निकै कम समय बाँकी छ । मतदानको दिन जति नजिकिँदै छ, त्यति दलहरुले चुनावी सभाको आयोजना गरिरहेका छन् । ती सभामा दिनहुँजसो दलका शीर्ष नेताहरु सहभागी भइरहेका छन् । जनतासँग मत मागिरहेका छन् । जनतालाई विकास र समृद्धिका आफ्ना एजेण्डा सुनाइरहेका छन् ।
यसै क्रममा चितवनमा शनिबार सत्ता गठबन्धनले चुनावी सभा सम्पन्न गरेको छ भने सोमबार नेकपा एमालेले चुनावी सभा गर्दैछ । सत्ता गठबन्धनले भरतपुरको गेष्टहाउसचौरमा चुनावी सभा सम्पन्न गरेको हो । एमालेले पनि सोही चौरमा सभा गर्ने भएको छ । यसपालिको निर्वाचनमा देशव्यापी मुख्य प्रतिष्पर्धा सत्ता गठबन्धन र एमालेबीच नै हुनेछ । केही ठाउँमा स्वतन्त्र र नेपाल स्वतन्त्र पार्टीले कडा टक्कर दिने अनुमान छ ।
सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (समाजवादी) लगायतका दलहरु अन्य दलको तुलनामा केही ढुक्क देखिएका छन् तर स्थानीय निर्वाचनमा काठमाडौँ, धरान, जनकपुर, धनगढीलगायत ठाउँमा आएका नतिजाले उनीहरुलाई सशंकित बनाएको छ । निर्वाचनको पापड बेल्न संयुक्त बल लगाइरहेको छ सत्ता गठबन्धन ।
गेष्टहाउसचौरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं सत्ता गठबन्धनको प्रमुख दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशलाई राजनीतिक स्थायित्व दिन गठबन्धन बनाउनु परेको र यो गठबन्धन आगामी १०–१५ वर्षसम्म जान सक्ने संकेत गरे । उनले जलस्रोतको विकास गरी रोजगारी सिर्जना गर्ने र देशलाई समृद्ध बनाउने वाचा पनि गरे । उनको यो वाचा कति सफल हुनेछ ? त्यसको लागि निर्वाचन परिणाम आई नयाँ सरकार बन्नुपर्नेछ ।
निर्वाचन परिणामले सत्ता गठबन्धनलाई नै सत्तामा पु¥याउने सम्भावना बढी देखिन्छ । गठबन्धनको अर्को दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव लड्न गोरखा गए पनि आफ्नो घर चितवन नै भएको बताउँदै चितवनमा सुरु भएका विकास योजना पूरा गर्ने प्रतिवद्धता जनाए । उनको यो अभिव्यक्तिले सत्ता गठबन्धनलाई केही राहत पुग्ने अनुमान गरिएको छ ।
गेष्टहाउसचौरको चुनावी सभामा दलका शीर्ष नेताहरु मात्र नभई चितवनका तीन क्षेत्रबाट चुनावी मैदानमा रहेका गठबन्धनका उम्मेदवारहरुले पनि आफ्ना भनाइ राखेर आफूहरुलाई सुशासन, विकास र समृद्धिको पक्षमा उभ्याएका छन् । देश कोरोनापछि आर्थिक रुपमा अप्ठेरोमा रहे पनि खतराउन्मुख नरहेको चितवन १ का उम्मेदवार डा. विश्व पौडेलको विश्लेषणले उनको परिपक्वता झल्काएको छ ।
निजी क्षेत्रको शिक्षाको विकासमा तीन दशकको अनुभव सँगालेका उमेश श्रेष्ठ चितवन २ बाट उम्मेदवार छन् । उनले सभालाई सम्बोधन गर्ने क्रममा चितवनको शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र पर्यटन क्षेत्रको विकास गरी चितवनलाई समृद्ध बनाउने उनको रोडम्याप स्पष्ट पारेका छन् ।
चितवन ३ का उम्मेदवार डा. भोजराज अधिकारीले राजनीतिलाई विकाससँग जोड्न आफूले उम्मेदवारी दिएको बताए । उनले पनि स्वास्थ्यलाई प्राथमिकतामा राखेर शिक्षा, कृषि र पर्यटनको विकास गर्ने प्रतिबद्धता जनाए ।
यसरी सत्ता गठबन्धनले भरतपुरको गेष्टहाउसचौरबाट समृद्धि र विकासको पक्षमा आफ्नो गर्जन सबैतिर गुञ्जायमान बनाएको छ । अब हेर्नु छ, सत्ता गठबन्धनका यी एजेण्डा जनताले कत्तिको रुचाउँछन् ? अनि गठबन्धनका उम्मेदवारलाई बहुमत दिन्छन् वा दिँदैनन् ? जनतासामु गरिएका वाचा पूरा गर्न पहिले जनमतको खाँचो पर्छ । त्यही जनमत प्राप्त गर्न सत्ता गठबन्धनले जनतासामु आफ्ना एजेण्डा पस्केको हो । चितवनका सचेत र स्वाभिमानी जनताले आफ्नो विवेकको प्रयोग गर्ने नै छन् ।




