दमौली २३ मङ्सिर
चारैतिर जङ्गल । खोंचबाट खसेको पानी । चराचुरुचुरुङ्गीको चिरबिर आवाज । स्वच्छ वातावरणमा झर्दै गरेको पानीले जो कसैको पनि मन आनन्दित बनाउँछ ।
भिमाद नगरपालिका–९ पाथर्दी गाउँबाट आधा घण्टाको पैदलयात्रा पछि इलुङ झरना पुगिन्छ । झरना पुगिसकेपछि आधा घण्टाको थकान मेट्न कति पनि समय लाग्दैन । साथै चिसो सरर बग्ने हावाले थकानको महसुस हुन दिँदैन ।
पर्यटकीय गन्तव्य बन्ने प्रचुर सम्भावना बोकेको यो झरना प्रचारप्रसारको अभावमा ओझेलमा छ । “मनमोहक झरनाले प्रशस्त सम्भावना बोकेको छ, तर प्रचारप्रसारका कारण यो ठाउँ ओझेलमा परेको महसुस भएको छ”, स्थानीय शिवकुमार आलेले भन्नुभयो ।
झरनालाई व्यावसायिकरुपमा सञ्चालन गर्न क्यानोनिङको सफल परीक्षण गरिए पनि यसलाई थप अगाडि बढाउन नसकिएको उहाँ बताउनुहुन्छ । “यहाँ क्यानोनिङ गराउन सक्छौँ कि भनेर परीक्षण गरायौँ, परीक्षण सफल भयो”, आलेले भन्नुभयो, “बजेट अभावका कारण पनि व्यावसायिकरुपमा अगाडि बढाउन समस्या भइरहेको छ ।”
झरनामा क्यानोनिङ सञ्चालनका लागि केही सामग्री खरिद गरे पनि पूर्वाधार अभावका कारण सञ्चालन गर्न नसकिएको आले बताउनुहुन्छ । “चेञ्जिङ रुम, शौचालयलगायतका संरचना बनाउनुपर्ने आवश्यकता देखिएको छ, तर बजेट नहुँदा काम हुन सकेको छैन”, उहाँले भन्नुभयो, “स्थानीय, प्रदेश सरकारसँग पनि यस विषयमा कुरा राख्छौँ ।”
हरिनास गाउँपालिका–४ स्थित कटमराम्चेबाट बग्दै आएको सो खोलाको इलुङ झरनाबाट बनेको दहमा प्रत्येक वर्ष मङ्सिरमा झाँक्री पूजा गर्ने गरिएको स्थानीय बताउँछन् । गाउँमा अनिष्ट नहोस्, बालीनाली राम्रो होस् रोगव्याधि नलागोस् भनेर परम्परागतरुपमा गरिँदै आएको उक्त पूजामा भेडा र कुखुराको सामूहिक बलि दिने प्रचलन छ ।
झरनामा पर्यटकलाई आकर्षित गर्न भिमाद नगरपालिकाको सहयोगमा केही पूर्वाधार निर्माण गरिएको छ । नगरपालिकाको रु पाँच लाखको बजेटमा झरनासम्म पुग्ने बाटोमा सिँढी र रेलिङ निर्माण गरिएको निवर्तमान वडाध्यक्ष इमानबहादुर थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार झरना जाने बाटोमा अप्ठ्यारो रहेको ठाउँमा सिँढी र रेलिङ निर्माण गरिएको हो । “झरना पुग्ने बेलामा झर्ने बाटो एकदमै अप्ठ्यारो रहेकाले पर्यटकलाई सहज होस् भन्ने उद्देश्यका साथ सिँढी निर्माण गरेका छौँ”, उहाँले भन्नुभयो । प्रचारप्रसार र बजेट अभावका कारण ओझेलमा परेको यस ठाउँको विकासका लागि सम्बन्धित निकायमा कुरा पु¥याउने उहाँले बताउनुभयो ।
उक्त बाटोको ७७ मिटर भागमा ढुङ्गा छापेर सिँढी निर्माण गरिएको छ । झरनामा पूर्वाधार विकासका लागि नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा रु १० लाख विनियोजन गरेको थियो । उक्त रकमबाट क्यानोनिङका लागि आवश्यक सामग्री खरिद गरिएको छ ।
झरनामा व्यावसायिकरुपमा क्यानोनिङ सञ्चालन गर्नुपूर्व प्रशिक्षक बोलाएर तालिम सञ्चालन गर्ने योजना बनाइएको छ । “झरनामा क्यानोनिङको सफल परीक्षण भइसकेको छ”, आलेले भन्नुभयो, “अब प्रशिक्षक बोलाएर यहाँका युवालाई क्यानोनिङ सम्बन्धी तालिम दिने सोचमा छौँ ।” उक्त झरना ४० मिटर अग्लो छ ।
झरनामा आउने पर्यटकलाई बास बसाउन पाथर्दी गाउँमा घरबास सञ्चालनमा ल्याइएको छ । गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री नमुना वातावरणमैत्री कृषि गाउँ पाथर्दीका १० घरमा घरबास सञ्चालनमा छ ।
उक्त झरना पृथ्वीराजमार्गको शुक्लागण्डकी नगरपालिकास्थित खैरेनीटार बजारबाट २३ किमीको दूरीमा छ । खैरेनीटारदेखि एक घण्टाको मोटरसाइकल यात्रापछि पाथर्दी र त्यहाँबाट आधा घण्टाको पैदलयात्रा पश्चात् झरना पुगिन्छ ।




