तनहुँ, ३ पुस ।
पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड निर्माणको क्रममा आँबुखैरेनी गाउँपालिका–२ स्थित खानीखोला पुल नजिकै भासिएको सडक मर्मत गरी यातायात एकतर्फीरुपमा संचालन गरिएको छ ।
आइतबार बिहान करिब १० बजेदेखि अवरुद्ध उक्त सडकखण्ड मर्मतपछि दिउँसो २ बजेबाट एकतर्फी संचालनमा आएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
राजमार्ग चौडा पार्ने क्रममा सडक भासिँदा पुलमा पनि असर पुगेको जिल्ला प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । उनका अनुसार माटो हालेर सडकको भ्वाङ पुरेर एकतर्फी संचालनमा ल्याइएको छ ।
ठूला सवारी साधनलाई एकतर्फी र साना सवारी साधनलाई दुईतर्फी सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।




