भरतपुर, ४ पुस ।
२२औँ विश्वकप फुटबलको आइतबार राति सम्पन्न फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना विश्व च्याम्पियन बनेको छ । निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि अतिरिक्त ३० मिनेटमा थप १–१ गोलसँगै खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा ४–२ गोलले अर्जेन्टिनाले विश्वकप आफ्नो पोल्टामा पारेको हो ।
खेलको पहिलो हाफमा अर्जेन्टिनाको लागि कप्तान लियोनल मेस्सीले २३औँ मिनेटमा पेनाल्टीको अवसरलाई गोलमा परिणत गरे । खेलको ३६औँ मिनेटमा अर्जेन्टिनाका डीमारियाले गोल थपे । म्याक लिस्टरले दिएको पासलाई लेफ्ट फ्ल्यांकमा अनमार्क रहेका डिमारियाले सुन्दर फिनिस गरेका थिए । फाइनल खेलमा निकै दबाबमा देखिएको फ्रान्सका लागि दोस्रो हाफको ८० र ८१औँ मिनेटमा गोल गरेर एम बाप्पेले खेल बराबरीमा पु¥याएका थिए । अतिरिक्त ३० मिनेटको समयमा फ्रान्सका लागि एम बाप्पेले थप एक गोल गर्दै विश्वकपकोे फाइनलमा ह्याट्रिकको रेकर्ड बनाए । लगत्तै अर्जेन्टिनाको तर्फबाट कप्तान लियोनल मेस्सीले एक गोल गर्दै खेललाई ३–३ को बराबरीमा पु¥याए । टाइब्रेकरको नतिजा भने अर्जेन्टिनाको पक्षमा गयो ।
अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप जितेको हो । अर्जेन्टिना यसअघि अन्तिम पटक सन् २०१४ मा विश्वकप फुटबलको फाइनलमा पुगेको थियो । उक्त फाइनल प्रतिस्पर्धामा अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो । यसपटकको विश्वकपमा सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० गोल अन्तरले पराजित गरेको थियो भने फ्रान्सले मोरक्कोलाई २–० को नतिजामा पराजित गरेको थियो । सन् १९७८ र १९८६ मा विश्वकप जितेको अर्जेन्टिनाले तेस्रो पटक विश्वकप उपाधि आफ्नो पोल्टामा पारेको हो ।




