काठमाडौँ, ४ पुस ।
प्रतिनिधिसभामा नयाँ निर्वाचित सदस्यको शपथ यही पुस ७ गते बिहीबार हुने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा यही पुस ७ गते बिहीबार दिनको १ बजे प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण हुनेछ । नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने भन्ने व्यवस्था छ ।
रविविरुद्ध उजुरी
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको उम्मेदवार बन्न योग्यता नै नपुगेको भन्दै उनलाई शपथ ग्रहण गर्न रोक लगाउन माग गर्दै दुईवटा रिट निवेदन परेका छन्।
युवराज पौडेल ९सफल०ले रवि लामिछानेले २०५० सालमा लिएको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता नलिएको दाबी गर्दै उनी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न नै अयोग्य रहेको दाबी गर्दै रिट निवेदन हालेका छन्।
खारेज भइसकेको नागरिकताको आधारमा दिएको उम्मेदवारीबाट जितेका लामिछानेलाई शपथ ग्रहण गर्न नै रोक लाउनुपर्ने मागदाबी पौडेलले गरेका छन्। उनले लामिछानेले अमेरिकी पासपोर्ट हुँदाहुँदै खारेज भइसकेको नागरिकताको आधारमा झुक्याएर नेपाली पासपोर्टसमेत लिएकाले त्यो कसुरमा पनि कारबाहीका लागि आदेशको माग गरेका छन्।
त्यस्तै अधिवक्ताद्धय रविराज बसौला र नाबीबाबु खत्रीले पनि लामिछानेको उम्मेदवार हुन आवश्यक पर्ने नेपाली नागरिकता नै नभएको दाबी गर्दै रिट हालेका छन्। सार्वजनिक सरोकारको क्षेत्राधिकार आकर्षित गर्दै दायर भएका दुवै रिटको प्रारम्भिक सुनुवाइका लागि पुस ६ गते संवैधानिक इजलासमा पेशी तोकिएको छ ।




