चितवन, ११ पुस ।
रुस–युक्रेन युद्धको असर नेपालसम्म प¥यो । खाद्यान्नसँगै खाने तेलको मूल्य अचाक्ली बढ्यो । सूर्यमुखी र भटमासको तेलमात्र नभई तोरीको तेलको भाउ पनि आकासमा पुग्यो । तोरीको भाउ आकासिएपछि अहिले चितवनका धेरैजसो भूभागमा तोरीखेती गरिएको छ । जता हेरे पनि पहेँलपुर फाँट देखिएको छ । धेरै वर्षपछि तोरीले राम्रो भाउ पाउने देखिएपछि किसानहरु तोरीखेतीमा आकर्षित भएका हुन् ।
कुनै समय नेपालमा “चितवनको तोरी, पहाडकी छोरी” भन्ने भनाइ प्रचलित थियो । उचित भाउ पाउन नसकेपछि बीचमा हराएको तोरीखेती अहिले पुनः उत्कर्षमा देखिएको छ । अरु खेतीभन्दा तोरीखेती गर्न सहज हुने र चाँडो पाक्ने भएकाले
यसतर्फ आकर्षित भएको बताउने किसानहरु खासमा तोरीको राम्रो भाउ पाइने भएकोले तोरीखेतीमा आकर्षित भएका हुन् ।
कृषि ज्ञान केन्द्रको तथ्यांकले पनि चितवनका किसान तोरीखेतीतर्फ आकर्षित भएको देखाउँछ । चितवनमा पाँच वर्षअघि २०७४/७५ मा १२ हजार २ सय ५१ हेक्टरमा तोरीखेती गरिएको थियो । यो वर्ष १४ हजार ६ सय हेक्टरमा फैलिएको छ ।
गत वर्षभन्दा यो वर्ष नै झन्डै १४ सय हेक्टर बढी जमिनमा तोरीखेती भएको छ । तोरीको माग बढेसँगै किसानले तोरीको भाउ पनि बढी पाउन थालेपछि तोरी खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको पाइएको कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी मीनबहादुर पुनको भनाइ छ ।
दुई वर्षमै दोब्बर मूल्य
२ वर्षअघि प्रति क्विन्टल ८ देखि १० हजार रहेको तोरी अहिले १५ देखि १८ हजार पुगेको छ । तोरीखेती गरेको क्षेत्रफलअनुसार उत्पादन पनि बढेको छ । दुई वर्षअघिसम्म १२ हजार २ सय ५० टन तोरी उत्पादन भइरहेको चितवनमा गत वर्ष १४ हजार ६ सय टन उत्पादन भएको थियो । ज्ञान केन्द्रको तथ्यांकले उत्पादनसँगै सामान्य ढंगले उत्पादकत्व पनि बढेको देखाउँछ । पाँच वर्षअघि प्रतिहेक्टर ९ सय ९५ किलो तोरी फल्ने गरेकोमा गत वर्ष १ हजार २ किलो फलेको छ ।




