काठमाडौँ, १३ पुस ।
नेपाली कांग्रेसका शेखर कोइराला – गगन थापा समूहले सभापति शेरबहादुर देउवासहितको “सानो गिरोह”को सत्तालिप्साले सबै गुमेको निष्कर्ष निकालेको छ । सो समूहको बुधबार बिहान राजधानीमा भएको भेलाले यस्तो निष्कर्ष निकालेको हो ।
काँग्रेस नेता शेखर कोइराला र महामन्त्री गगन थापासहितका नेताहरू बुधबारको भेलामा सहभागी रहेका थिए । भेलामा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र सांसद प्रदीप पौडेल भने अनुपस्थित थिए ।
सभापति देउवाले प्रधानमन्त्री र राष्ट्रपति दुवै आफूले पाउनु पर्ने अडान राखेपछि माओवादी केन्द्र गठबन्धनबाट बाहिरिएको थियो । माओवादी केन्द्र र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेपछि कांग्रेस संघमा मात्रै नभएर प्रदेशमा पनि सबै प्रमुख पद गुमाउने अवस्थामा पुगेको छ ।
प्रधानमन्त्री दाहाल देउवासँग सरकार गठनबारे सहमति हुन नसकेपछि केपी ओलीसँग सहमति गर्न बालकोट पुगेका थिए । त्यसपछि शेखर–गगन समूहका नेताहरूले यस्तो अवस्था आउनुको पछाडि देउवा समूहका नेताहरू दोषी रहेको बताउँदै आएको छन् ।




