काठमाडौँ, १४ पुस ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सत्ता साझेदार दलको संयोजक बनाउने निर्णय गरेको छ। बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउनेबारे समेत छलफल भएको थियो ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई सात दलको समर्थन छ । यसमा माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी छन् ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, रास्वपा अध्यक्ष लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी थिए। राप्रपाले न्यूनतम साझा कार्यक्रम ल्याउनुपर्ने र आफूहरूका सर्त सम्बोधन गर्ने प्रतिबद्धता आउनुपर्ने बताइरहेको छ । बैठकको निर्णयपछि पाँच दिनभित्र सरकारका न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरिएको छ ।




