भरतपुर ८ साउन
भरतपुर अस्पतालले आजदेखि ओपिडी सेवा निःशुल्क गरेको छ । भरतपुर अस्पताल विकास समितिको निर्णयानुसार आज देखि भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षणको लागि आउने सबै सेवाग्राहीका लागि ओपिडी टिकट निःशुल्क गरिएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले महिला र बीमा मार्फत् आउनेहरुले यस अघि नै शुल्क नलिने गरेको बताउँदै बाँकी रहेकाहरुलाई पनि शुल्क नलिने निर्णय गरिएको बताउनुुभयो । उहाँले भन्नुुभयो आजदेखि अस्पतालको टिकट काउन्टरमा नगद कारोबार हुँदैन ।
पैसाको कारोबार गर्दा अलमल हुने र टिकट लिन लामो समय लाग्ने गरेकाले छिटो छरितो सेवा दिन पनि शुल्क नलिने निर्णय गरिएको उहाँको भनाई छ । अस्पतालमा दैनिक १ हजार ५०० हाराहारी बिरामीले ओपिडी सेवा लिने गरेका छन् ।




