काठमाडौँ ९ भदौ
बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन २.८६ अंकले बढेको बजारमा आज १८.२९ अंकले गिरावट आउँदै २०३९.५५ अंकमा झरेको हो ।
नेप्से घटेपनि कारोबार रकम भने हिजोको तुलनामा बढेको छ । आज शेयर बजारमा ४२ लाख ३४ हजार १३७ कित्ता शेयर खरिदबिक्री हुदाँ एक अर्ब ७१ करोडमाथिको कारोबार भएको छ । हिजो नेप्सेमा १ अर्ब ५२ करोड बराबरको शेयर कारोबार भएको थियो ।
बजार ओरालो लागेपनि यस दिन अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ३३ रुपैयाँ १० पैसा बढेर ३६४ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन रु रु जलविद्युत कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। यस दिन मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ५.८२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन मल्टीपपर्स फाइनान्स, खानीखोला हाइड्रोपावर र सूर्योदय वामी लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ११ करोड २४ लाख ६५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।




