सूर्यप्रसाद अधिकारी/भरतपुर ११ भदौ l
‘शहरभित्रको शहर’ अर्थात् भरतपुरस्थित सिजी ल्याण्डमार्क । सानो शहरै जस्तो यस दशतले विशाल व्यापारिक मलको व्यवस्थापनको जिम्मेवारी पाएका छन् कुशल व्यवस्थापक उज्वल केसीले । ठूलो मल भएकोले राम्रो व्यवस्थापन गरेका छन् ऊर्जाशील युवा केसीले । बिहान ८ बजेदेखि बेलुका १० बजेसम्म त्यही मलमा भेटिन्छन् उनी । गोरो अनुहार, चटक्क मिलेको शरीर, बोलीमा फरासिला तन्नेरी । झट्ट हेर्दा कुनै सिनेमाका नायकभन्दा कम छैनन् । दक्षतामा समेत कुनै खोट नभएका उमेरले पनि तीन दशक मात्र टेकेका यी युवा देशकै ठुलो व्यावसायिक घराना चौधरी ग्रुपको महत्वपूर्ण भेन्चरको व्यवस्थापन सम्हालेका छन् ।
हुन त उनको यो कर्म नयांँ भने होइन । भारतको पञ्जाब युर्निभसिटीमा अध्ययनसंँगै व्यवस्थापन अभ्यास गर्दै आएका उनी अहिले स्थापित प्रबन्धकको रुपमा चिनिन्छन् । ललितपुरको मध्यमवर्गीय परिवारमा जन्मेका उनी सानैदेखि नयांँ काम गर्नमा अघि सर्ने व्यक्ति थिए । ‘म स्कुल पढ्दादेखि नै नयांँ काम र ज्ञानका लागि निकै अभिरुचि राख्थें । इगर टु लर्न का अर्थात् सिक्न चाहने भएका कारण म अहिले यो स्थानमा आउन सफल भएको हुंँ’ उनमा आत्मविश्वासको कमी देखिँदैन ।
सानो परिवार, बुबा शिक्षक, आमा समाजसेवी र जग्गा जमीन समेत प्रशस्त भएका उनको जन्म २०४७ सालमा भयो । ‘गोदावरीमै रहेको स्कुलबाट मेरो प्रारम्भिक अध्ययन शुरु भयो’ उनी विगत सम्झिन्छन् । उनले २०६४ सालमा एसएलसी उत्कृष्ट श्रेणीमा पास गरे । तर एसएलसीको नतिजाको पर्खाइमा उनले समय खेर फालेनन् । ब्रीजकोर्स र अन्य सिकाईलाई अघि बढाउंँदै गए ।
‘मैले कलेजका सिनियर दाइहरुको कुरा सुन्दा र बुझ्दा पनि अटो मेकानिकल इञ्जिनियरको नेपालमा मार्केट छ भन्ने कुरामा विश्वस्त थिएंँ, तर बुबाले मलाई डाक्टर पढ भन्नुहुन्थ्यो’ उनले अध्ययनको विगत बताउँदै गए । त्यहांँ पनि उनले सरासर उत्कृष्ट श्रेणीमा डिप्लोमा इन इञ्जिनियरिङ्ग पास गरे ।
२०६७ सालपछि उनको उच्चशिक्षाको गन्तव्य बन्यो भारतको पञ्जाब युनिभर्सिटी । ‘तंँ आँट म पु¥याउँछु भनेझैँ सानै उमेर भए पनि उनको हिम्मत र साहसका कारण घर छोडेर भारत अध्ययन गर्न उनलाई केहीले पनि छेकेन । ‘केही पाउन केही गुमाउन पर्छ भनेझैं मैले मेरो उज्ज्वल भविष्यको लागि भारत अध्ययनलाई प्राथमिकता दिएंँ’ उनले सम्झे । आखिर यही निर्णय नै उनको जिन्दगीको टर्निङ्ग प्वाइन्ट बन्यो । स्वदेशमै स्थापित हुन पुगेका उनी पढाईमा कहिल्यै पछि परेनन् ।
‘म पहिलो सेमेष्टरदेखि नै पञ्जाब युनिभर्सिटीको मेकानिकल इञ्जिनियरको टपर विद्यार्थी बन्न सफल भएँ । जहांँ भारतभर १२० वटा कलेज आवद्ध छन्’ उनले आफ्नो पढाइको अब्बलता बताउने मौका चुकाएनन् ।
२० बर्षकै उमेरमा अध्ययन गर्दागर्दै उनलाई त्यहीँको स्वराज माज्दा कम्पनीले जागिर अफर गर्याे । पैसालाई त्यति प्राथमिकतामा राखेनन् उनले । उनी भन्छन्, ‘मैले पैसालाई कहिल्यै प्राथमिकतामा राखिनँ । जहिले क्यारियर र काम नै मेरा सहयात्री भए ।’ उनमा कामप्रतिको जिम्मेवारी त्यतिखेरदेखि नै रहेछ ।
मेकानिकल इञ्जिनियरिङ्ग सकेपछि भने उनी दोधारमा परे । नेपाल फर्कने कि त्यहीँको कम्पनीमा निरन्तरता दिने ? भारत अध्ययनमा जांँदा नै नेपालमा फर्केर केही गर्छु भन्ने सोच भएका उनको मन त्यहांँ किन अडिन्थ्यो र ? ‘यहांँको भन्दा राम्रो तलब सुविधा मैले त्यतिबेला नै पाएको थिएंँ । तर मलाई विदेशको कामले सन्तुष्टि दिएकै थिएन’ नेपाल आउन घच्घचाउने पल उनले अझै बिर्सेका रहेनछन् । त्यतिबेला नै नेपालको कर्पाेरेट कम्पनीहरुले उनलाई अफर गरिरहेका थिए ।
‘मौका यही हो नेपाल फर्कने जस्तो लाग्यो । निर्णय गरेँ यतै आउने’ उनले भने । नेपाल फर्के लगत्तै उनलाई मोरङ अटो वर्क्स र जर्मनीको कम्पनी नेपाल वारेन इलेक्ट्रिकले अफर गरे । तर उनले दोस्रो बाटो रोजे, जहांँ उनकै अध्ययनको प्रकृतिको काम थियो ।
अवसर र भाग्य पटकपटक भेटिँदैन भनिएपनि उनको लागि भने अवसरको ओइरो लाग्न थाल्यो । काम र दक्षता देखेर होला, उनी त्यहांँ पनि कम्पनीको तेस्रो सिनियर अफिसर थिए । तर जहांँ काम गरे पनि उनी क्षमता र दक्षता देखाएर माथिल्लो पदमा राख्ने अठोट राख्थे । समय र कामलाई बराबर माया गर्ने उनले काम शुरु गरेको एक बर्ष नबित्दै प्रमोसन पाए । ‘प्रमोसन भएपछि जोश र जांँगर पनि बढ्यो, दायित्व र जिम्मेवारी पनि बढ्यो’ अनुभव सुनाउंँछन् उनी । साढे २ बर्ष त्यहांँ काम गरे उनले ।
त्यतिबेलाको समय काठमाडौमा पनि बिदेशको जस्तो मलको कन्सेप्ट भर्खर शुरुवाती क्षणमा थियो । काठमाडौंमा विशाल बजार र अन्य कम्पेल्क्स शुरु भए पनि सपिङ मल भने खुलेको थिएन । पहिलोपटक ललितपुरको पुल्चोकमा ठूलो सुविधासपन्न लबिम मल खुल्यो । त्यसैमा उनको ध्यान मोडियो । त्यसपछि भने सदाको लागि उनले मेकानिकल इञ्जिनियरिङको बाटो बिट मारे । उनी लबिम मलको सहायक प्रबन्धक बन्न पुगे । यो जिम्मेवारी उनको लागि विल्कुल नयांँ थियो । ‘मलाई नयांँ काम र चुनौतिको काम गर्ने मेरो बिशेषता नै थियो, आखिर त्यहांँ पनि म सफल भएर छाडेँ’ उनले भने ।
त्यहांँका परिवेश, वातावरण नयांँ जिम्मेवारी उनलाई यसमा अभ्यस्त हुन धेरै समय लागेन । उनी जाने बित्तिकै लबिम मलको सबै प्रणाली फेरियो । यो मलले छोटो समयमै ग्राहकको मन जित्न सफल भयो । आफूभन्दा जुनियर कर्मचारीसंँग पनि उत्तिकै घुलमिल हुने स्वभावका उनी आफूभन्दा उपल्लो दर्जाका कर्मचारीलाई उत्तिकै आदर गर्थे । यहांँसम्म आउंँदा राम्रो दख्खल र अनुभव हासिल गरिसकेका उनी त्यहांँ काम गरेको केही समयपछि नै देशकै ठूलो व्यावसायिक घराना चौधरी ग्रुपको आंँखामा परिहाले ।

‘मैले काम गर्दागर्दै मलाई भरतपुरको सिजी ल्याण्डमार्कको प्रबन्धकको जिम्मेवारीमा अफर आयो’ उनले चौधरी ग्रुप प्रवेशको मोड सुनाए । दुई बर्ष अघिदेखि उनी सिजी ल्याण्डमार्कमा प्रबन्धकको रुपमा आफ्नो जिम्मेवारी सम्हालिरहेका छन् । छोटो समयमै चितवनको विभिन्न क्षेत्र र चितवनवासीको विश्वास जित्न सफल यस ल्याण्डमार्कमा स्टार लेबलको दि फर्न रेसीडेन्सी होटलदेखि उपभोक्ताका लागि ब्राण्डेड कपडा, दैनिक चाहिने उपभोग्य सामान, मनोरञ्जनात्मक खेलहरु, सिनेमा हल र फुड कोर्टसमेत यहांँ छन् ।
विदेशमा राम्रै जागिर पाएर पनि स्वदेशमै अवसर देखेर यहीँ जमेका उनी स्वदेशमै केही गर्न चाहने युवाका लागि प्रेरणा बन्न सक्छन् । ‘अवसर अरुले दिनेमात्र होइन हामी आफैंले खोज्ने र सृजना गर्ने पनि हो’ अहिलेसम्मको उनको भोगाइको निष्कर्ष उनले सुनाए ।




