तनहुँ, १४ भदौ
सुशासन, पारदर्शिता र ग्रामीण विकासलाई प्राथमिकतामा राखेको बताउने नेपाली काँग्रेसका वरिष्ठ नेता एवं गठबन्धनका संयोजक रामचन्द्र पौडेललाई भावी प्रधानमन्त्रीका रुपमा हेर्न थालिएको छ । उनी तनहुँ जिल्लाको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा उठ्ने भएका छन् ।
नेपाली काँग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १, तनहुँको आवेदन फारम भर्दै वरिष्ठ नेता पौडेलले उम्मेदवार हुन चाहनुको उद्देश्यमा सुशासन, पारदर्शिता र ग्रामीण विकासलाई उल्लेख गरेका छन् । उनले विगतमा नेपाली काँग्रेसको कार्यवाहक सभापति भई काम गरिसकेका छन् । मन्त्रीहुँदै उपप्रधानमन्त्रीसम्म भएका पौडेल प्रतिनिधि सभाको पूर्वसभामुखसमेत हुन् ।
सुशासनका लागि गठबन्धन
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा राजनीतिक स्थितरताको लागि गठबन्धन आवश्यक रहेको बताएका छन् ।
काठमाडौँमा आयोजित सम्पादकहरूसँगको छलफलमा वरिष्ठ नेता पौडेलले भने, ‘देशका लागि अझै केही गर्ने हुटहुटी र आकाङ्क्षा छ, त्यसैले फेरि आउँदो चुनावमा उम्मेदवार बन्न चाहेको छु ।’ देशको विकास गर्न नैतिक, स्वच्छ र चरित्रवान छवि भएको व्यक्ति आवश्यक भएको पनि उनले बताए ।
नेता पौडेलले देशमा शान्ति, स्थिरता र सुशासनका लागि गठबन्धन आवश्यक रहेको बताए । ‘हामीले नगरे अर्कोले गर्छ, अहिलेको आवश्यकता र वास्तविकता यही हो, स्थिरताका लागि गठबन्धन आवश्यक छ ।’
उनले छिमेकी देश तथा शक्ति राष्ट्रसँगको सम्बन्धलाई सुदृढ गर्दै देशलाई उन्नति र प्रगतिको पथमा अघि लैजानु अहिलेको आवश्यकता भएको बताए । उनले नागरिकले चाहेको सुशासन र विकासमा राजनीतिक दल र नेतृत्वले ध्यान दिनुपर्नेमा जोड दिए ।
नयाँ र पुराना पुस्ता मिलेर देश बनाउनुपर्ने भन्दै वरिष्ठ नेता पौडेलले लोकप्रियताका लागि जे पनि भन्ने र बोल्ने प्रवृत्तिबाट नेताहरू मुक्त हुनुपर्ने धारणा व्यक्त गरे ।




