चितवन । आगामी मंसिर ४ गते हुने आम निर्बाचनमा चितवन क्षेत्र नं १ बाट संँगैका साथी स्वर्णिम वाग्ले र विश्व पौडेल सहित नेपाली कांग्रेसबाट ६ जनाले आवेदन दर्ता गरेका छन् । पौडेल र वाग्ले विगत एक महिना अघि देखि पूर्वी चितवनमा चुनावलाई लक्षित गरी सक्रिय रहंँदै आएका थिए ।
संघीय सांसदको लागि प्रत्यक्ष तर्फ उम्मेदवारी प्रस्तुत गर्नेमा स्वास्थ्य राज्यमन्त्री देखि अर्थ विद् समेत रहेका छन् । उनीहरुले सो पार्टीको क्षेत्रीय समितिमा आज नाम दर्ता गराएका हुन । कांग्रेस नेता तथा सरकारका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पनि चितवन क्षेत्र नं १ बाट निर्वाचन लड्ने गरी आवेदन दर्ता गरेका छन् । कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा त्रिभूवन विश्व विद्यालयका पूर्व उपकुलपति डा।तीर्थ खनिया, प्रतिनिधि स्थानीय नेताहरु राजेन्द्र बुर्लाकोटी र भीमप्रसाद थपलियाले पनि क्षेत्र नम्बर १ बाटनै प्रत्यक्षतर्फ आवेदन दर्ता गरेका छन ।
बुर्लाकोटी यस अधि दुई पटक संघीय सांसदको लागि प्रतिस्पर्धा गरेका नेता हुन । उनी एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेसंग पराजित भएका थिए । यस्तै नेपाली कांग्रेसबाट समानुपातिक तर्फ ८ जनाले उमेदवारी प्रस्तुत गरेका छन् । समानुपातिकमा संविधान सभा सदस्यदेखि पूर्व राज्यमन्त्री समेत रहेका छन् ।
संविधान सभा सदस्य सावित्रीदेवी चौधरी, पूर्व राज्यमन्त्री सावित्री बोगटी,कांग्रेसका जिल्ला सचिव सुर्य अर्याल,महिला नेतृ शुशीलादेवी उप्रती,नेताहरु जोखा प्रसाद चौधरी, बासुदेव चौधरी,टंक उप्रेती र मान बहादुर थापाले उम्मेदवारी प्रस्तुत गरेका हुन ।
सोही क्षेत्रबाट एमालेबाट पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र एमालेका केन्द्रीय सदस्य जेएन थपलियाले आकांक्षा राखेका छन् भने एकीकृत समाजवादीबाट बागमती प्रदेशका आन्तरिक तथा कानुनमन्त्री कृष्ण प्रसाद खनालले पनि आकांक्षा राखेका छन् ।




