काठमाडौं १७ भदौ
शुक्रबार हलमा दुई नेपाली फिल्म रिलिज भएका छन् । सुदर्शन थापा निर्देशित ‘सम्हालिन्छ कहिले मन’ र ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ’ रिलिज भएका हुन्।
त्रिकोणात्मक प्रेमकथामा बनेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ मा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका रहेको छ। कभर गीत गाएर चर्चामा आएका तोप्देनले यसै फिल्ममार्फत डेब्यू गरेका हुन्।
यो फिल्म सुगम पोखरेलको ‘सम्हालिन्छ कहिले मन’ गीतको नाम सापटी लिँदै बनाइएको हो। फिल्मको कथा भने महेश दवाडीले तयार पारेका हुन्।
त्यसैगरी, भीमनिधि तिवारीको कथा ‘झिँगेदाउ’मा आधारित फिल्म ‘झिँगेदाउ’ पनि प्रदर्शनमा आएको छ। फिल्ममा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टको मुख्य भूमिका रहेको छ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति ‘मुनामदन’मा आधारित फिल्म बनाइसकेका देउजाको यो अर्को कृतिमा आधारित फिल्म हो ।
पारिवारिक दाउपेचको कथा समेटेको यस फिल्ममा प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद रहेको छ।




