चितवन १८ भदौ ।
भरतपुरमा पहिलो चरणको विद्युत भूमिगत गर्ने कार्यको थालनी भएको छ । नेपाल विद्युत प्राधिकरण अन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले शनिबार भूमिगत गर्ने कार्यको औपचारिक रुपमा थालनी गरेको हो । परियोजनाको एक कार्यक्रमका बीच पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाट गर्नुभयो ।
विद्युतीय तार परियोजनाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भूमिगत वितरण प्रणालीले विकासको अर्को चरण सुरुवात गरेको उल्लेख गर्नुभयो । उहाँले यो प्रणालीबाट जनताले सुरक्षित र गुणस्तरीयसहितको सहज सेवाका लागि वातावरण बन्ने बताउनुभयो । उहाँले भरतपुरमा मात्र नभइ चितवन जिल्लालाई नै भूमिगत प्रणाली लैजानुपर्ने धारणा राख्नुभयो । भरतपुरले देशभर विकासको मोडल पेश गर्नुपर्ने अवस्था आइपुगेको उहाँ उल्लेख गर्नुभयो ।
वितरण प्रणालीलाई भूमिगत तथा सृदृढीकरण र अटोमेशन गर्ने उद्देश्यले तारहरुलाई भूमिगत गर्न लागिएको आयोजनाका प्रमुख इन्जिनियर वीरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।
नेपाल सरकारले काठमाण्डौँ पोखरा र भरतपुरका मुख्य सहरका विद्युतीय तारलाई भूमिगत गर्ने गरी एकैपटक बजेट विनियोजन गरेको थियो । काठमाण्डौँ र पोखरामा यस कामअघि सुरु भैसकेको छ । भरतपुरमा निर्माणधिन ६ लेन सडक, बाइपासरोड र आँपटारीदेखि पुलचोकसम्म पहिलो चरणमा काम थालनी गरिएको छ । आयोजना प्रमुख झाका अनुसार, पहिलो चरणमा ३१३ किलोमिटर सडकमा दुवैतर्फ विद्युतीय तार भूमिगत हुनेछ । यही फाउण्डेशनमा इन्टरनेट र केवल टेलभिजनका तार पनि भूमिगत हुनेछन् । विद्युतिय तार भूमिगत गर्न सडक निर्माणसँग सम्बन्धित रहेकाले सडकसँगको समन्वयमा काम गर्ने उनले बताए । पहिलो चरणको सुरुवात भरतपुर ओरालोस्थित भरतपुर महानगरको कार्यालय अगाडिबाट गरिएको छ ।
भरतपुर वितरण केन्द्र अन्तरगत पर्ने मुख्य सहरी सडकहरुको एच.टी/एट.टी लाईनहरु भूमिगत गर्ने तथा ट्रान्सफरमहरु सुदृढीकण र एल.टी लाईनहरु बिछ्याउने आयोजना रहेको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा दुई वर्षभित्र सक्ने गरि भारतको बहुराष्ट्रिय कम्पनी टाटाले ठेक्का पाएको छ । यस आयोजनाको बजेट दुई अर्व ५८ करोड ६९ लाख ३८ हजार ३५२ रुपैयाँ रहेको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भूमिगत तार प्राणाली सुरक्षाका दृष्टिकोणले बहुउपयोगी रहेको बताउनुभयो । उनले भूमिगत प्रविधिद्धारा सुदृढीकरण गरी गुणस्तरीय, सुरक्षित तथा भरपर्दो विद्युत सेवाप्रदान गरि सौन्दर्यकरण बढाउने उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले परियोजनाले निर्धारित समयमा काम नगर्ने परिपाटीको विकास भएको भन्दै समयमै काम सक्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुरको विकासमा भूमिगत विद्युतीकरण गर्ने कार्य नयाँ श्रङखालाको सुरुवात भएको उल्लेख गर्नुभयो ।




