काठमाडौँ २३ भदौ
काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनाइएका भवनको नक्सा तीन महिनाभित्र पेश गर्न सूचना जारी गरेको छ।
महानगरको सहरी व्यवस्थापन विभागले सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रयोजनको निम्ति बनाइएका भवनको नक्सा पास गर्न पुनः सूचना जारी गरेको हो।
नक्सा पास नगरी बनेका त्यस्ता संरचना ९० दिनभित्र प्रक्रिया पूरा नगरे स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता र कार्यविधि तथा कार्यालयको निर्णयअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।
त्यस्तै नक्सा बिना र मापदण्ड विपरीत बनाइएका अवैध सीमा तथा पर्खाल ३५ दिनभित्र भत्काउन पनि आग्रह गरेको छ । घरजग्गा घेर्न निर्माण गरिने यस्ता संरचनाको पनि नक्सा पास हुनुपर्ने महानगरको सूचनामा उल्लेख छ ।
‘त्यस्ता अवैध पर्खाल स्वयम् व्यक्ति वा घरधनीले नभत्काइए महानगरले भत्काइदिनेछ,’ महानगर स्रोतले भनेको छ ।






