चितवन, २५ भदौ ।
उर्जामन्त्री पम्फा भुषालले भारतपछि नेपाल सरकारले बंगलादेशलाई विद्युत निर्यातको लागि तयारी भईरहेको बताउनु भएको छ । भरतपुर विमानस्थलमा शनिबार पत्रकारसंँग कुरा गर्दै उहांँले उर्जा क्षेत्रमा देशले फड्को मार्दै गएको बताउनु भयो ।
‘बंगलादेशसंँग जलविद्युत निर्यातमा सम्झौता भईसकेको छ’ , उहांँले भन्नुभयो, ‘जलविद्युत उत्पादनमा पनि बंगलादेशसंँग सम्झौताको तयारी हुंँदैछ ।’ बंगलादेशका प्रधानमन्त्रीसंँग यही बर्षभित्र ५० मेघावाट विद्युत निर्यातको लागि छलफल भईरहेको उहांँले बताउनुभयो ।
विद्युतको अन्तर्राष्ट्रिय निर्यातको शुरुवात भएको उहांँको भनाई थियो ।‘ बर्षायाममा हाम्रो विद्युत उत्पादन पनि बढी हुन्छ’ उहांँले भन्नुभयो, ‘गरीब विपन्नलाई पनि शुल्क घटाईएको छ । कृषि क्षेत्रमा ७५ प्रतिशत छुटको व्यवस्था गर्दैछौं । ’
फरक प्रसंगमा उहांँले गठबन्धनको सीटको बिषय शनिबार बेलुकासम्म टुंग्याउने बताउनु भयो । ‘हिजो प्राविधिक हिसाबले टुंगिएन’ उहांँले भन्नुभयो, ‘गठबन्धनका नेताहरु पनि बाहिर हुनुहन्थ्यो ।’ माओवादी केन्द्रको आगामी निर्वाचनमा ६० सीटभन्दा माथि दाबी रहेको उहांँले बताउनु भयो । ‘गठबन्धनको कुरा हो गिभ एण्ड टेक पनि हुन्छ’ उहाँले भन्नुभयो ।




