दार्चुला २६ भदौ
यहाँको बाढीप्रभावित क्षेत्र महाकाली नगरपालिका–४ बाङाबगड क्षेत्रमा बस्ती जोगाउन स्थानीयसँगै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले समेत साथ दिनुभएको छ । शुक्रबार आएको लास्कुखोलाको कटानले बाङाबगड वस्ती बिस्थापित हुन थालेपछि मन्त्री बडू स्वयं ढुङ्गा बोकेर स्थानीयलाई साथ दिँदै हुनुहुन्छ ।
शनिबार नेपाली सेनाको हेलिकप्टरमार्फत राहत लिएर सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीसँगै जिल्ला पुग्नुभएका उहाँ लास्कु खोलामा ढुङ्गा बोकेर साथ दिइरहनुभएको छ । प्रदेशसभा सदस्य गेल्बुसिंह बोहरा, महाकालीका नगर प्रमुख नरसिह चैसिर, उपप्रमुख दुर्गाकुमारी खत्री विष्ट, नेकपा (एमाले)का जिल्लास्तरीय नेता, जिल्लास्थित सुरक्षाकर्मी, स्थानीय र युवा विद्यार्थीले बिहानैदेखि तारजाली लगाएर बाङबगड क्षेत्रमा खोला फर्काउने प्रयास गरिरहेका छन् ।
बस्ती जोगाउन तत्कालीन अवस्थामा ढुङ्गा जाली लगाएर नदीको धार परिवर्तन गर्नुपर्ने आवश्यक्ता रहेको मन्त्री बडूले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेलाई पहिलो चरणमा कटान रोक्ने काम गराँै ।” नदीको बहाव कम हुने बित्तिकै बजारको कटान रोकिन्छ । यो सबैको साझा दायित्व हो । बजार क्षति भयो भने फेरि दर्जनौ घर तथा पसलमा क्षति हुने देखिन्छ ।
बाङाबगड क्षेत्रको खानेपानी ट्याङ्की नजिकैको बजार कटान हुन थालेपछि तारजाली र ढुङ्गा भर्ने काम भइरहेको एमाले जिल्ला कमिटी उपाध्यक्ष चरनसिह बुढाथोकीले बताउनुभयो । स्थानीयको सहभागितामा बिहान ६ बजेबाटै ढुङ्गाजाली भर्न थालिएको छ । माथिल्लो बाङाबगड नजोगाउने हो भने पूरै बजार विस्थापित हुने अवस्था रहेको छ ।




