नारायणगढ, २७ भदौ ।
सन् २०१६ मा टुटल राजधानी काठमाडौँमा आउँदा यस्तो व्यवसाय पनि हुन्छ भन्ने धेरैलाई जानकारी नै थिएन । मोबाइल एपमार्फत दुईपांग्रे सवारीसाधन बोलाउन सकिन्छ र त्यसले गन्तव्यमा पु¥याइदिनेछ भन्ने बुझाउन टुटललाई लामै समय लाग्यो । टुटलले राजधानी काठमाडौँमा लोकप्रियता पाएको यो व्यवसाय अहिले देशका अन्य शहरमा अरु नै नामले संचालनमा आएको छ ।
राइड सेयरिङ एप सवारीले सोमबार नारायणगढमा पत्रकार सम्मेलन गर्दै आफ्नो सेवा चितवनमा सुरु भएको जानकारी गराएको छ । सवारी चालकले आफूलाई सवारीमा दर्ता गर्न र सेवाग्राहीले सेवा लिन सवारी एप मोबाइलमा डाउनलोड गर्नुपर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेरबहादुर साहले बताए । ‘काठमाडौँ, पोखरा, बुटवल र भैरहवापछि चितवनमा सेवा सुरु गरेका छौँ’ उनले भने ।
सवारीले कम्पनी दर्ता गरेर सेवा सुरु गरेको यसका सहसंस्थापक रोहित यादव बताउँछन् । ‘नेपालमा अझै पनि राइड सेयरिङबारे कानुन बनिसकेको छैन’ उनले भने, ‘हामीले कम्पनी ऐन अन्तर्गत कम्पनी दर्ता गरेर सवारी सुरु गरेका हौँ । यातायात व्यवस्था विभागबाट पनि अनुमति लिएका छौँ ।’ सवारीबारे स्थानीय तहका सरकारी कार्यालयमा जानकारी गराइएको उनले बताए ।
सवारीका चितवन शाखा प्रबन्धक विपीन काफ्लेले चितवनमा भर्खरैमात्र सेवा सुरु गरिएको जानकारी दिए । उनका अनुसार मोबाइलमा एप डाउनलोड गरेपछि सेवाको लागि ट्याक्सी, अटो वा मोटरसाइकल छनौट गरी आफू कहाँदेखि कहाँसम्म जाने हो ? उल्लेख गरेपछि भाडा कति लाग्छ ? भन्ने जानकारी मोबाइलमै आउँछ । सवारीले प्रतिकिलोमिटर भाडादर मोटरसाइकलको २०, अटोरिक्साको ४५ र ट्याक्सीको ५५ रुपैयाँ निर्धारण गरेको उनले बताए ।




