काठमाडौँ, १ असोज ।
नेकपा (एमाले) ले संविधान दिवसको अवसरमा शनिबार पदयात्रा (वाकथन) गरेको छ । वाकथनको सुरुवात एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका हुन् । उनको साथमा धर्मपत्नी राधिका शाक्य पनि सहभागी थिइन् ।
बानेश्वर, मैतीदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट निस्केको पदयात्रा वसन्तपुर पुगेको थियो । पदयात्रामा एमाले अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेललगायत शीर्ष नेताको सहभागिता थियो ।
पदयात्रामा नेता तथा कार्यकर्ताले नेपाली झण्डा लिएका थिए । संविधानसभाबाट पाएको संविधानको रक्षा गर्नका लागि पदयात्रा गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । पदयात्रामा एमाले नेता तथा कार्यकर्ता, पार्टीका जनवर्गीय सङ्गठन र एमालेप्रति शुभेच्छा राख्ने जनसमुदायको सहभागिता थियो ।
असोज ३ गते को संविधान दिवसलाई राष्ट्रव्यापी रुपमा मनाउने र त्यसकै सन्देश दिनलाई काठमाडौं उपत्यकामा पदयात्रा गरिएको एमालेले जनाएको छ । वाकथनको बसन्तपुरमा अध्यक्ष ओलीले सम्बोधन गरी समापन गरेका छन् ।
केही राजनीतिक टिप्पणीकारले एमालेबाट आयोजित पदयात्रा चुनावको मुखमा गरिएको शक्ति प्रदर्शन भनेका छन् । पदयात्रामा उल्लेख्य संख्यामा एमाले नेता र कार्यकर्ताको सहभागिता रहेको थियो ।




