काठमाडौँ २ असोज ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू सर्वोच्च अदालत जान तयार भइसकेपछि सरकारले गेटमा तालाबन्दी गरिदिएको बताएका छन् । संसद्को ‘आयु’ सकिएसँगै सर्वोच्च फर्कने तयारीमा रहेका जबराले आफू तयार भएर निस्कने बेला सरकारले गेटमा तालाबन्दी गरिदिएको बताएका हुन् ।
ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर सरकारले निलम्बित प्रधानन्यायाधीश राणालाई आइतबार निवासमै ‘नजरबन्द’मा राखेको छ । प्रधानन्यायाधीश राणाले बिहान ११ बजे आफू सर्वोच्च अदालत जाने बताएपछि बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर राणालाई निवासबाट निस्कन रोक लगाइएको हो ।
राणा सर्वोच्च फर्कने तयारी गरेपछि उनलाई रोक्न बार एसोसिएसनका पदाधिकारी र सदस्यहरू अदालत परिसरमा धर्ना दिएका छन् भने बाक्लो रूपमा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ । शनिबार मध्यरातबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको सांसदको कार्यकाल नै सकिएपछि राणाले आइतबार सर्वोच्च अदालत जाने बताएका थिए ।
राणाविरुद्ध २०७८ फागुन १ गते महाभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको थियो । महाभियोग दर्ता भएसँगै उनी निलम्बनमा परेका थिए । महाभियोगबारे प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले छानबिन गरेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ ।




