काठमाडौँ, ४ असोज ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेतासहित कार्यदलका सदस्यहरु निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन छलफलमा जुटेका छन् । निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्द सूची सोमबार बुझाएसँगै दलहरूको ध्यान प्रत्यक्षतर्फका उम्मेदवार छान्नतिर गएको हो ।
पाँचदलीय सत्ता गठबन्धनले गत साउन २० गते नै सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन गरेपनि सहमति जुट्न सकेको छैन । ११ सदस्यीय कार्यदलको संयोजक नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन् ।
कार्यदलमा नेपाली कांग्रेसबाट सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् । माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरूङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।
गठबन्धनमा प्रतिनिधिसभाको १६५ सिटमध्ये ९० प्रतिशतमा सहमति जुटे पनि अन्य निर्वाचन क्षेत्रका बारेमा दोहोरो र तेहेरो दावी भएकाले भागबण्डामा सकस पर्दै आएको बताइएको छ । दलहरुले सिट भागबण्डा मिलाउँदा प्रतिनिधि र प्रदेश सभा दुवैमा सन्तुलनसहित सहमति गर्ने बताउँँदै आएका छन् ।




