धनगढी ६ असोज
कैलालीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका ५ अण्डैयामा बिहीवार बिहान श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको हो । यस्तै कुटपिटबाट दुई छोराछोरी पनि घाइते भएका छन् ।
मृतकका श्रीमान् शेरबहादुर नाम्जाली मगरले श्रीमती ललिता नाम्जाली मगरलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटनामा १७ वर्षीया छोरी लक्ष्मी नाम्जाली मगर र १२ वर्षका छोरा विजय नाम्जाली मगर घाइते भएका छन् ।
घाइते लक्ष्मीलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको छ । विजयलाई सामान्य चोटपटक लागेको छ । ललितामाथि धारिलो हतियार प्रहार गरिएको बताइएको छ ।
रोजगारीका लागि भारतमा रहेका शेरबहादुर बुधबार मात्र घर फर्किएका थिए । घटनापछि शेरबहादुर फरार भएका थिए ।
फरार रहेका उनलाई सोही गाउँबाट पक्राउ गरेको जिल्ला प्रहरी कैलालीका डिएसपी वेद जोशीले बताए । घटनाको थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।




